बागमती प्रदेशको न्यूनतम साझा कार्यक्रम स्वीकृत

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रमहरू स्वीकृत गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस अघि प्रदेश सरकार सञ्चालनका लागि बनेको कार्यदलले पेस गरेको सरकारको साझा न्यूनतम कार्यक्रम, २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्रदेश अघिका प्रदेश सरकारले ल्याएको विद्युतीय बस सञ्चालन र खरिद प्रक्रिया तथा भीमफेदी कुलेखानी सुरुङ मार्ग निर्माणको योजना रोकेको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पुनः प्रदेशको गौरवको आयोजनाको रूपमा केही सुरुङ मार्ग र विद्युतीय बस सञ्चालन र चार्जिङ्ग स्टेसनको योजनाहरू प्रस्तुत गरेका छन् ।

उक्त न्यूनतम साझा कार्यक्रममा कोभिड–१९को महामारीबाट प्रदेशवासी नागरिकको जीवन रक्षा गर्ने, संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूति दिलाउने गरी सरकार सञ्चालन गर्ने, संघीयताको कार्यान्वयनका लागि संघीय सरकार र स्थानीय तहसँग समन्वय र सहकार्यलाई मजबुत बनाउँदै प्रदेश तहको संवैधानिक क्षेत्राधिकार बमोजिम प्रदेश सरकार सञ्चालन गर्ने जस्ता कार्यक्रम प्रदेश सरकारका मुख्य प्राथमिकतामा परेका छन् ।

त्यस्तै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा आम नागरिकको पहुँच स्थापित गर्ने, आर्थिक र सामाजिक रूपान्तरणको आधार निर्माण गर्दै उच्च र समन्यायिक आर्थिक विकासमा जोड दिने, उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थामा सुधार, महँगी नियन्त्रण तथा भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जस्ता कार्यक्रम रहेको छ ।

कोभिड–१९ का कारण बढी प्रभावित क्षेत्रको उत्थान तथा कोभिड–१९बाट प्रभावित श्रमजीवी, विपन्न, बेरोजगार लक्षित कार्यक्रम सञ्चालन गर्ने, बाढी, पहिरो, आगलागी, डुबान तथा अन्य प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार, राहत तथा पुनर्स्थापनाका कार्यहरू गर्ने, यस विषयमा स्वयम् सेवक तालिम दिई विपद् व्यवस्थापन सम्बन्धी कार्यलाई प्रभावकारी बनाउने जस्ता विषयहरू समावेश भएका छन् । संयुक्त सरकारका नीति र कार्यक्रम अन्तर्गत ५७ वटा बुँदाहरूमा विभिन्न क्षेत्रहरू समेटिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*