मकवानपुरको सबै स्थानीय तहमा कोरोना बिरुद्धको खोप र परीक्षण
हेटौंडा । मकवानपुरको दश वटै स्थानीय तहका स्वास्थ्य केन्द्रमा कोरोना बिरुद्धको खोप र एन्टिजेन परीक्षण भइरहेको छ । बिशेषगरी हेटौंडा उपमहानगरपालिकाले गोरक्षश्वरमा एन्टीजेन परिक्षण र पीसीआर दुबैको परिक्षण गरिरहेको छ । कोरोनाको संका लागेका बिरामीहरुले गोरक्षश्वरमा हरेक दिन गएर परिक्षण गराउन सक्ने उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले बताउनुभयो ।
त्यसैगरी हेटौंडाका स्वस्थ्यसंस्थाहरुबाट कोरोना बिरुद्धको खोप लगाउने काम पनि निरन्तर रुपमा चलिरहेको उहाँले बताउनुभयो । उपमहानगरपालिकामा रहेका करिब एक सय जना स्वास्थ्यकर्मीहरुलाई हेटौंडा अस्पताल, बिभीन्न स्वास्थ्यसंस्था, गोरक्षश्वर स्वाब संकलन केन्द्रमा खटाइएको उहाँले बताउनुभयो । हरेक दिन बिहानको समयमा गोरक्षश्वरमा एन्टीजेन र स्वाब संकलनको काम गरिदै आएको छ ।
यसैगरी मकवानपुरको मनहरी गाउँपालिकाले पनि हरेक स्वास्थ्यसंस्थाबाट कोराना बिरुद्धको खोप लगाउने काम गरिरहेको छ । खोप लगाउनका लागि चेतना जगाउने कामसंगै आफ्ना पालिका भित्रका तोकिएको उमेर समुहका नागरिकलाई खोप लगाउने काम पनि निरन्तर रुपमा गरिरहेको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । मनहरीका १३ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । संक्रमण भएपछी मनहरी अस्पतालमा इमरजेन्सी सेवा मात्र सुचारु छ ।
हेटौंडा र मनहरी मात्र होइन । मकवानपुरको थाहा नगरपालिका, इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका, राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिकाले पनि कोरोना परिक्षण र खोप लगाउने कामलाई तिब्रता दिएका छन् ।
संघीय सरकारले स्थानीय तहलाई नै पालिकामा खोप नपाउने व्यक्तिहरू पहिचान गरी कोभिड– १९ विरुद्ध खोप लगाउने अभियानलाई तीव्रता दिई पूर्ण खोप अभियान सञ्चालन गर्ने दायित्व सुम्पिएको छ ।
निकट भविष्यमा खोप प्राप्त गर्ने ५ वर्षदेखि ११ वर्ष सम्मका बालबालिकाको पहिचान र सूची तयार गर्ने र उपलब्ध हुनासाथ लगाउने तयारी गर्ने कार्य स्थानीय तहले गर्ने गरी आदेश जारी भएको छ ।
स्थानीय तहले नै सार्वजनिक स्थानमा वा सार्वजनिक सेवा प्रदान गर्दा खोप कार्डलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाउने तयारी गर्दै छन् । स्थानीय तहले टोल सुधार समिति, टोलस्तरमा गठन भएका कोभिड– १९ सहजीकरण समूह तथा उपभोक्ता समितिलाई परिचालन गर्ने र आवश्यकताअनुसार त्यस्ता समिति वा समूह गठन गरी परिचालन गर्ने तयारी समेत गरेका छन् ।
























