मकवानपुरमा घरैपिच्छे बिरामी , कोरोना परीक्षण भने न्यून
हेटौंडा । मकवानपुरमा कोरोना महामारी तीव्र रूपमा विस्तार भएको छ । कोरोनाको लक्षण देखिएपनि सामान्य रुघाखोकी ठानेर परीक्षण नगर्नेको संख्या धेरै पाइएको छ । कोरोना संक्रमण मकवापनुरका दश वटा स्थानीय तह मध्यमा सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा रहेको छ ।
कन्ट्रयाक्ट ट्रेसिङसमेत हुन नसकेको अवस्थामा घरघरमै कोरोनासँग मिल्दो लक्षण भएका बिरामी बढेका छन् । सक्रिय संक्रमितलाई होम आइसोलेसनमै राख्दा परिवारका अन्य सदस्य पनि संक्रमित भइरहेको विज्ञले बताएका छन् । मकवानपुरको दुर्गम बस्तीमा कोरोनाको लक्षण भएका बिरामी घरपिच्छे देखिन थालेका छन् । तर, उनीहरूको परीक्षण गरिएको छैन । राक्सिराङ–६ सिलिङेका चेपाङ बस्तीका रुघाखोकी, घाँटी र जीउ दुख्ने बिरामी रहेको वडाध्यक्ष सिंंहलाल चेपाङले बताउनुभयो ।
चेपाङ समुदायको बसोबास रहेको उक्त क्षेत्रका अधिकांशले खोप लगाएका छैनन् । विशेषगरी चेपाङ बस्तीमा खोपबारे भ्रम फैलिएका कारण समस्या भएको राक्सिराङ गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख विजयकुमार कापरीले बताउनुभयो । ‘गाउँपालिकाभर पहिलो खोप ४० प्रतिशतले लगाएका छन् भने दोस्रो खोप २७ प्रतिशतले मात्र लगाएका छन् ।’ यस्तै, दोलखाको शैलुङ गाउँपालिकाका एक वडाध्यक्षसहित १७ जना कर्मचारी संक्रमित भएका छन् ।
जसका कारण सेवा प्रभावित बनेको अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो । हेटौंडाका धेरैजसो घरमा एक जनालाई कोरोना देखिए पुरै परिवार संक्रमित हुने क्रम बढेको छ । सामान्य रुघाखोकी ठानेर पनि परीक्षण नगर्नेको संख्या धेरै रहेको छ । हेटौंडाका वडा वडामा हाल दिनमा एक ठाउँमा मात्रै परीक्षण गरिरहेको छ ।
कोरोना परिक्षण हेटौंडामा पनि तिब्र रुपमा भइरहेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । त्यो परिक्षणले अझै अपर्याप्त रहेको पाइएको छ । अझै मकवानपुरका गाउँगाउँमा रुघा, खोकी, ज्वरोका विरामी धेरै भएपनि स्वास्थ्यसंस्था टाढा हुनु, गाउँगाउँमा स्थानीय तहले सेवा दिन नसक्नु लगायतका कारण पनि कोरोनाका विरामीमा बृद्धी भएको हो । जनपत्रबाट
























