बागमती प्रदेश राष्ट्रियसभा सदस्यको मतदान सम्पन्न,मतगणना पनि सुरु
हेटौंडा । आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनको बागमती प्रदेश अन्तर्गत मतदान कार्यक्रम सम्पन्न भएको छ । मतदान कार्यक्रम सम्पन्न भएपछि अहिले मतगणना पनि सुरु भएको छ ।
बिहान ९ बजेबाट सुरु भएको मतदान अपरान्न ३ बजे सम्पन्न भएको हो । हेटौंडा उपमहानगरपालिका- ८ मा रहेको औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहमा भएको निर्वाचनमा १०६ प्रदेशसभा सदस्य तथा प्रदेश अन्तर्गतका स्थानीय तहका २३७ जनप्रतिनिधिले गरी कुल ३४३ जनाले मतदान गरेको बागमती प्रदेश निर्वाचन कार्यलय,हेटौंडाले जनाएको छ । मतगणना कार्य भने ४ बजेबाट सुरु भएको छ र नतिजा आजै सार्वजनिक हुने निर्वाचन कार्यलयले जनाएको छ ।
बागमती प्रदेशमा रिक्त रहेको दुई सदस्य पदमा ६ जनाको उम्मेद्वारी रहेको छ । सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमा तिमल्सिना चुनावी प्रतिस्पर्धामा रहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट गोपाल शाक्य र निरकुमारी कुँवर दर्लामीको उम्मेद्वारी रहेको छ । यसैगरि,नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० को तर्फबाट कृष्ण तामाङ र गिता काफ्ले चुनावी मैदानमा छन्।
























