माघ २० सम्म विद्यार्थीलाई विद्यालयमै खोप दिइने

काठमाडौँ – आजदेखि पाँच दिनसम्म विद्यार्थीलाई विद्यालयमै कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ।

देशभरका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन बन्द रहे पनि खोप लगाइने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेरका विद्यार्थीलाई १५ माघदेखि २० सम्म विद्यालयमै खोपको व्यवस्था गर्न भनेको थियो। सोहीअनुसार स्थानीय तहले सूचना जारी गर्दै खोप लगाउन आह्वान गरेका छन्।

काठमाडौँ महानगरपालिकाले विद्यालय खोप अभियान सञ्चालन भइरहेकाले खोप लगाउन छुटेका विद्यार्थीको विवरण अद्यावधि गरेर विद्यालय वा नजिकैको खोप केन्द्रमा खोप लगाउन निर्देशन दिएको छ। त्यसका लागि महानगरका वडामा रहेका सामुदायिक सहरी स्वास्थ्य क्लिनिकसँग समन्वय गर्न विद्यालयलाई भनिएको छ।

१२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई मोडर्ना खोप दिइँदै आइएको छ। यसअघि २७ पुसदेखि १५ माघसम्म सबै विद्यालय बन्दको निर्णय भएकामा लम्ब्याएर माघ मसान्तसम्म कायम गरिएको छ। खोप लगाएको सुनिश्चित गरेपछि परीक्षा सञ्चालन गर्ने सरकारको तयारी छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*