जनताको काम तीव्र गतिमा गर्न मन्त्रालय विभाजन गर्यौ – मुख्यमन्त्री पाण्डे
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशका मन्त्रालय विभाजन जनताको काम तीव्र गतिमा गर्नको लागि गरिएको बताएका छन् । बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सवका अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले चाँडै प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य पुष्टि हुने बताएका हुन् ।
उनले चाँडै प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य पुष्टि हुनेसमेत बताए। उनले भने “प्रदेश सरकारले मन्त्रालय विभाजन गर्यो भनेर, विभिन्नस्तरमा टिक्का टिप्पणी भइरहेको छ भन्ने सुनिन्छ, हामीले मन्त्रालय विभाजन भागबण्डा मिलाउन होइन, जनताप्रति प्रदेश सरकारको उत्तरदायित्व धेरै भएकाले तीव्र गतिमा काम गर्न मन्त्रालय विभाजन गरेका हौँ । र, त्यसको औचित्य चाँडै पुष्टि हुनेछ । कहीँकतै कसैले शङ्का उपशङ्का गरिरहन जरुरी छैन ।”
मुख्यमन्त्री पाण्डेले प्रदेशसभा सञ्चालनको सन्दर्भमा सभामुख सानुकुमार श्रेष्ठले सबै राजनीतिक दलसँग समन्वयकारी भूमिका निर्वाह नगरेको आरोप लगाए । उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए तापनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए। कहीँकतै कमी कमजोरी भएका छन् भने आ–आफ्नो ठाउँबाट समीक्षा गर्दै सुधार्नु पर्ने र सबैको उद्देश्य समग्र प्रदेशको विकास नै हुनुपर्ने उनले बताए ।
उनले कोरोनाको महामारीबाट जनतालाई जोगाउनेदेखि प्रदेशमा बन्द अवस्थामा रहेका उद्योग धन्दा सञ्चालनमा ल्याउने, रासायनिक मल कारखाना खोल्ने, राष्ट्रिय गौरवको आयोजनाको कार्यमा प्रदेश सरकारले सक्रिय ढङ्गबाट कार्य अघि बढाइरहेको बताएका हुन् ।
























