प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच एमसीसी बारे छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।
विहिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा देउवा र ठाकुरबीच अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विषयमा छलफल भएको बताइएको छ ।
स्रोतका अनुसार संसद्बाट एमसीसी पारित गर्ने विषयमा सहयोग गर्न प्रधानमन्त्री देउवाले ठाकुरसँग आग्रह गरेका छन् । देउवाले एमसीसी देशको हितमा भएकाले संसद्बाट पारित गर्न भूमिका खेल्न ठाकुरलाई आग्रह गरेका थिए । जवाफमा अध्यक्ष ठाकुरले एमसीसी पारित गर्ने विषयमा आफ्नो पार्टी सकारात्मक रहेको बताएको बुझिएको छ ।
स्रोतका अनुसार सभामुख अग्नीप्रसाद सापकोटाले संसद्मा एमसीसी टेबल गर्ने विषयमा अवरोध गरे सभामुखको विकल्प खोज्न सकिने विषयमा समेत छलफल भएको छ । प्रधानमन्त्री देउवाले सभामुखलाई हटाउने अवस्था आएमा सहयोग गर्न ठाकुरसँग आग्रह गरेका थिए ।
ठाकुर प्रतिनिधिसभाका जेष्ठ सदस्य हुन् । सभामुख सापकोटालाई हटाएमा ठाकुर जेष्ठ सदस्यको नाताले संसदमा सभामुखको भूमिकामा हुने छन् ।
























