कमल थापा राप्रपाबाट अलग
हेटौंडा । राप्रपाका पूर्वअध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गर्नुभएको छ ।
गृहजिल्ला मकवानपुरको हेटौंडामा भएको पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो ।
आफ्ना मागको नेतृत्वले सम्बोधन नगरेकाले नचाहँदा नचाहँदै पार्टीबाट अलग हुने निर्णय बाध्य भएको थापाले बताउनुभयो ।
थापाले पार्टीको चुनावको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन हुनुपर्ने माग राख्दै आउनुभएको थियो । साथै उहाँले केन्द्रीय सदस्य मनोनयनमा पनि अध्यक्ष राजेन्द्र लिङ्देनले एकलौटी गरेको आरोप लगाउनुभएको थियो ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहनेछु । राप्रपाका कुनै साथीहरूसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु ।’
सोमबार उहाँले आफूनिकटका पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको भेलामा माग पूरा नभए पार्टीबाट अलग हुने भन्दै त्यसका लागि कार्यकर्तालार्ई तयार रहन आग्रह गर्नुभएको थियो ।
थापा निकष्टस्थका अनुसार उहाँ नयाँ पार्टी गठनको अन्तिम चरणमा हुनुहुन्छ ।
























