निर्वाचन भाँड्न नयाँ-नयाँ विवाद सिर्जना गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सत्ता गठबन्धनले महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर राज्यका अंगहरूलाई विभाजनतिर लगेको टिप्पणी गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएकाले यसले मुलुकमा हानी पुग्ने दावी गरेका छन् ।

‘मुलुकलाई स्थायित्व र सहि बाटो दिन निर्वाचनतिर लाग्नुपर्नेमा सत्ता गठबन्धन नै निर्वाचन भाँड्न र नयाँ नयाँ विवाद सिर्जना गर्न लागेको छ’ ओलीको भनाइ उदृत गर्दै प्रेस संयोजक रामशरण बजगाईंले भने, ‘राज्यका अंगहरूलाई कमजोर पार्ने षडयन्त्रबाहेक केही होइन ।’ अध्यक्ष ओलीले महाअभियोगको सिलसिलाको बीजारोपण गरेर सत्तापक्षले राज्यका अंगहरूलाई नियन्त्रण गर्ने र प्रतिपक्षसँगको सम्बन्ध तनावग्रस्त बनाउन खोजेको बताएका छन् ।

यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन् । ‘यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ’, रिजालले सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखापर्नेछ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*