ओलीसहित एमालेका नेताहरुविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको भ्रातृ संगठन अनेरास्ववियुले एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूमाथि कारबाहीको माग गर्दै अख्तियारमा उजुरी दिएको छ । बिहीबार अख्तियारको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानबिनको माग गरेको हो ।

अनेरास्ववियुको तर्फबाट बागमती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरित उजुरीमा झापास्थित गिरीबन्ध टी स्टेटको नाममा रहेको हदबन्दी भन्दा बढीको जग्गा राष्ट्रियकरण गर्नुपर्नेमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलले अर्बौं मूल्य पर्ने जग्गा सट्टापट्टा गर्न पाउने गरी ऐन संशोधन गराउन सहयोग गरेर नीतिगत भ्रष्टाचार गरेको उल्लेख गरिएको छ । सो प्रकरणमा तत्कालीन भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल लगायतलाई पनि कारबाहीको माग गरिएको छ।

यस्तै स्वास्थ्य सामग्री खरिद प्रक्रियामा तत्कालीन रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि ओम्नीसँगको अनियमितता प्रकरणमा मुछिएकाले निजहरुमाथि छानविन गरी भ्रष्टाचारमा कारबाही गर्न माग गरिएको छ। यस्तै भिजिट नेपाल २०२० को नाममा राज्यकोषको करोडौं रकम हिनामिना भएको भन्दै तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईमाथि पनि छानबिनको माग गरिएको छ।

उजुरी दिन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीसहितका नेता कार्यकर्ता अख्तियार पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*