कांग्रेस मकवानपुर जिल्ला सभापतिको लागि लामिछाने र पराजुलीको उम्मेद्वारी घोषणा

हेटौंडा । आईतबार हुने नेपाली कांग्रेस मकवानपुरको अधिवेशनमा जिल्ला सभापतिको लागि जयराम लामिछाने र आनन्द पराजुलीले उम्मेद्वारी घोषणा गरेका छन् । शुक्रबार दुबै जनाले हेटौंडामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्दै जिल्ला नेतृत्वको लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

लामिछानेले सबै पदाधिकारीहरुको प्यानल घोषणा गरेका छन् । उनले आफ्नो प्यानलमा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने, सचिवमा भीमसेन महत, इश्वर पाठक, सहसचिवमा इन्दिरा न्यौपाने र रत्न बहादुर गोलेले उम्मेदवारी रहने जानकारी दिए । कांग्रेसको विधान अनुसार उपसभापति, सचिव र सहसचिव दुई–दुईजना हुने व्यवस्था रहेको छ । उनले आफुले कांग्रेसले दिएका विभिन्न जिमेवारीमा रहेर काम गरेको र आफुले अब जिल्ला सभापति चलाउन सक्षम भएकाले उमेदवारी दिन लागेको बताए ।

प्यानल घोषणा गर्दै लामिछानेले विधि र विधानमा चल्नु पर्ने मान्यता राख्ने बताउँदै विजयी भएमा विजयी नहुने साथीहरूलाई सङ्गै लैजाने र पराजित भएको अवस्थामा विजयी साथीहरूसंगै मिलेर पार्टीको काम अघि बढाउने समेत प्रतिबद्धता व्यक्त गरे ।

उनले आफुमा जिल्लाका सबै स्थानीय तहका वडाहरुमा जिताउने क्षमता रहेकाले आफ्नो उम्मेदवारी रहेको र मकवानपुर कांग्रेसले आफ्नो नेतृत्व खोजेको स्पष्ट पारे । उनले आफुले गुटको राजनीति अन्त्य गर्न र विचारको राजनीति अघि बढाउन आफ्नो उम्मेद्वारी रहेको बताए । लामिछानेको प्यानल घोषणा कार्यक्रममा पूर्व जिल्ला सभापतिहरु माईकल रामचन्द्र अर्याल,रघुरमण न्यौपाने,कांग्रेस मकवानपुरकी नेतृ उमा दाहाल,रिता खनाल,कांग्रेस मकवानपुरका सचिव आनन्द कठायत लगाएतको सहभागिता रहेको थियो ।

यसैगरि,सभापतिका उम्मेद्वार आनन्द पराजुलीले आफु सभापति पदमा विजयी भएको अवस्थामा मकवानपुर जिल्लालाई कांग्रेसमय बनाउने दाबी गरे ।

उनले स्थानीय निर्वाच नजिकिदै गरेको बताउँदै निर्वाचनमा कांग्रेसलाई विजयी गराउने, जनताको सुख दुःखमा साथ दिने र विकास निर्माणमा सधै लागि पर्ने प्रतिवद्धता जनाए ।

‘कांग्रेसले जनतामाझ आफ्नो पार्टीको विचार स्थापित गर्न आवश्यक छ ।’, उनले भने, ‘विचारसँगसँगै विकासलाई पनि ध्यानमा राखेर जनतामाझ विकास निर्माणलाई समेत तीब्रता दिनेतर्फ मेरो ध्यये रहनेछ ।’ उनले बर्षौंदेखि आफुले मकवानपुरमा कांग्रेस बृद्धि हुनुमा पार्टीको विचार र जिल्लाको विकासलाई सँगैसँगै अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । उनले आफुलाई सहर बजारदेखि कुना कन्दराका कार्यकर्ताले खोजेको बेलामा भेट्ने र उनीहरुको समस्या समाधानका लागि हरदम लागि पर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

पराजुलीले हेटौंडा उपमहानगरको मेयर बन्ने र पार्टी सभापतिको उम्मेदवार हुने विषयलाई लिएर भ्रम सिर्जना गर्नु गलत भएको र मेयर जनप्रतिनिधि हुने विषय र पार्टी सभापति विल्कुल फरक भएकोले जनतामाझ जाने र पार्टी नेतृत्वको बारे एउटै डालोमा हाल्न नमिल्ने धारणा राखे । ‘मेयर हुने विषयलाई पार्टी सभापतिमा ल्याएर जोड्न मिल्दैन ।’ उनले भने, ‘पार्टीले योग्य उम्मेदवारलाई मेयरको उम्मेदवार बनाउने छ, त्यहाँ म मात्र हुन्छु भन्ने होइन, अहिले पार्टीको चुनाव भएकोले यतामात्र केन्द्रीत हुन जरुरी छ ।’ उनले आफु सभापति भए, पार्टी विस्तारलाई व्यापक जोड दिँदै स्थानीय तह, प्रदेश र प्रतिनिधिसभामा कांग्रेस का उम्मेदवारलाई विजयी गराएर काँग्रेसको किल्ला बनाउने दृढता व्यक्त गरे ।

उनले आफुलाई कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना र कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको समर्थन रहेको दाबी गरे । उमेदवारी घोषणा कार्यक्रममा उपाध्याय र बानियाँ सहभागि भएका थिएनन् । पराजुलीले आफ्नो प्यानल भने घोषणा गरेका छैनन् ।

पराजुलीको उम्मेदवारी घोषणा कार्यक्रममा कांग्रेस मकवानपुरका नेताहरु दामोदर खनाल, सुशान्त श्रेष्ठ, एतिराज सापकोटा, विश्वलाल लामा, राजवीर मोक्तान लगायतको सहभागिता रहेको थियो ।खबर ब्रेकबाट

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*