ओलीले भने – ‘आफूलाई पदच्यूत गर्नकै लागि एमसीसीमा विवाद झिकिएको थियो’

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई पदच्यूत गर्नकै लागि अमेरिकी सहयोग परियोजना एमसीसीमा विवाद झिकिएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसदबाट एमसीसी सम्झौता पास गरिएको दुई दिनपछि आज आफ्नो पार्टीको धारणा सार्वननिक गरेका हुन् । एक पत्रकार सम्मेलन आयोजना गरेर ओलीले तत्कालीन नेकपामा आफूलाई पदत्यूत गर्ने उद्देश्यले मात्र विरोधी पक्षले एमसीसीमा विवाद सुरु गरेको बताए ।

नेताहरुकै गलत मनसायका कारण एमसीसी सम्झौता झण्डै तीन वर्षदेखि अनावश्यक रुपमा गिजोलिएको र जनतामा समेत भ्रम पैदा गराइएको उनको भनाइ छ ।

एमालेको आधिकारिक धारणाका रुपमा एक विज्ञप्ती जारी गर्दै भनिएको छ, ‘एमसीसीसम्बन्धी मुद्दा तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने लक्ष्यसहित विकृत रुपमा शुरु गरिएको योजनाबद्ध दुष्प्रचार थियो ।’

विज्ञप्तीमा थप भनिएको छ, ‘एमसीसी सम्झौता अहिलेका सत्तागठबन्धनमा रहेका दलहरुले गरे । यसलाई विवादास्पद पनि तिनै गठबन्धनका नेताहरुले बनाए । सम्झौता आफूले गरे, जनताले जवाफ माग्दा उत्तर दिनुको साटो प्रश्न एमसीसीतिर तेस्र्याए । सन्धि(सम्झौताका सन्दर्भमा राज्यले गर्नुपर्ने पत्राचारजस्तो विषयमा दलका नेताले हात हालेर कूटनीतिक मर्यादाको घोर उल्लंघन गरे । हाम्रो पार्टी विभाजनको लागि समेत हतियारको रुपमा यसैलाई प्रयोग गरे । हाम्रो पार्टी यसखाले दुःषित अभियानमा संलग्नहरुप्रति खेद प्रकट गर्दछ ।’

साथै, एमसीसी परियोजनासम्बन्धी सम्झौता संसदबाट अनुमोदन भइसकेको र अब राष्ट्रको हित प्रतिकूलन हुने गरी यसको कार्यान्वयन हुनुपर्ने एमाले धारणा छ । ‘पारित भइसकेको परियोजनाका बारेमा राष्ट्रको जनमतलाई थप विभाजित गर्नु हानिकारक हुन्छ,’ उसले भनेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*