संसद बैठक सुरु हुन नपाउँदै स्थगित
काठमाडौँ – सुरु हुन नपाउँदै बुधबारको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। बैठकमा एमाले सांसदहरूले नाराबाजी गरेका थिए।
बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका थिए। एमालेको अवरोधबीच बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश गरेका थिए।
लगत्तै सभामुख अग्निप्रसाद सापकोटाले आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी सुनाएका थिए।
सम्भावित कार्यसूचीअनुसार बुधबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। मन्त्री आलेले नै ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी अर्को प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।
एमालेले गत भदौ २३ देखि संसदमा अवरोध गर्दै आएको छ। सभामुख अग्निप्रसाद सापकोटाले पदीय जिम्मेवारीविपरीत कारबाहीमा परेका आफ्ना १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सांसदले नाराबाजी गर्दै आएका छन्।
























