मकवानपुरगढीका सबै वडा आज बालमैत्री घोषणा हुँदै
हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका सबै वडाहरु शुक्रबार बालमैत्री घोषणा हुँदै छन् । आगामी चैत्र १२ गते बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारीमा रहेको गाउँपालिकाले आजसबै वडालाई एक साथ बालमैत्री वडा घोषणा गर्ने भएको हो ।
बालमैत्री गाउँपालिका घोषणाको लागि आवश्यक सबै सुचकहरु सतप्रतिशत पुगेर घोषणाको अन्तिम चरणमा पुगेकोले पहिला वडाहरुलाई घोषणा गरिने र आगामी चैत्र १२ गते गाउँपालिकालाई नै बालमैत्री घोषणा गरिने बालमैत्री घोषणा कार्यक्रमका संयोजक रामप्रसाद दाहालले जानकारी दिए। दाहालका अनुसार बुधबार अन्तिम सुचक मापन तथा बालमैत्री दिगोपनाको रणनितिक योजना निर्माण गर्ने कार्यशाला सम्पन्न गरेर शुक्रबार वडाहरु घोषणा गर्न लागिएको हो । वडाहरुलाई बाल विवाह मुक्त, निकृष्ट बालश्रम मुक्त वडा घोषणा पश्चात वडालाई बालमैत्री घोषणा गर्न लागिएको हो ।
गाउँपालिकाबाट अनुगमन र मुल्यांकन पछि कार्यपालिकाको बैठक बसेर गाउँपालिकाको ८ वटै वडा बालमैत्री घोषणा गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।
पुडासैनीका अनुसार वडाहरु घोषणा भएसँगै गाउँपालिका घोषणा गर्न भने सबै सुचकहरु जिल्ला समन्वय समिति र बागमती प्रदेश सरकारबाट अनुगमन, मुल्यांकन हुने र चैत्र १२ गते शनिबार बृहत कार्यक्रमको आयोजना गरि बालमैत्री गाउँपालिका घोषणा गरिने छ ।
माथिल्लो निकायले सुचकहरुको प्रतिवेदन ठिक छ भने पछि मात्र गाउँपालिका घोषणा गरिने उनले बताए । गाउँपालिकाले बालमैत्री घोषणा गर्नुभन्दा अघि पञ्चवर्षिय दिगोपना राख्न रणनितिक योजना समेत बनाइसकेको उनले बताए।
गाउँपालिकाले २०७८ मंसिरमा नै घोषणा गर्ने तयारी गरेको भए पनि कोरोना महामारिका कारण चैत्र सम्म पुगेको गाउँपालिका अध्यक्ष बिदुर हुमागाईले बताए। गाउँपालिकाले बालमैत्री स्थानीय शासन घोषणा निर्देशिका २०७८ मा रहि ५१ वटा सुचकमा रहेर काम गरेको थियो ।
५१ वटा सुचकहरुमा बाँच्न पाउने अधिकारमा १४ वटा, संरक्षणको अधिकारमा १० वटा, विकासको अधिकारमा ६ वटा, सहभागिताको अधिकारमा ६ वटा र संस्थागत सुचकमा १५ वटा रहेका छन् । बालमैत्री घोषणा गर्ने नेपालको गाउँपालिका मध्ये मकवानपुरगढी गाउँपालिका चौथो, बागमती प्रदेश र मकवानपुर जिल्लामा भने तेस्रो हुने उनले बताए ।
























