विप्लवको केन्द्रीय समिति बैठकमा महासचिवको प्रतिवेदनमाथि समूहगत छलफल सुरु

कपिलवस्तु । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । बिहानबाट सुरु भएको बैठकमा महासचिव चन्दको प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुमा शुक्रबारबाट सुरु भएको बैठकमा महासचिव चन्दले प्रस्तुत गरेको प्रतिवेदन अध्ययन गर्नका लागि भन्दै आज बिहानसम्मका लागि बैठक स्थगित भएको थियो ।

छलफलमा टोली नेताले आफ्नो समूहको धारणा राख्ने क्रम जारी रहेको एक केन्द्रीय सदस्यले  भने । टोली नेताहरुले धारणा राखेपछि आजै महासचिव चन्दले जवाफ दिने कार्यक्रम रहेको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई उपयोग गर्ने वा बहिष्कार गर्ने भन्ने विषयमा बैठकले औपचारिक रुपमा नीतिगत निर्णय लिने बताइएको छ । महासचिव चन्दले प्रतिवेदनमा चुनावमा जानुपर्ने प्रस्ताव अघि सारेका छन् । उक्त प्रस्तावमा केही नेताहरुले विमति जनाउँदै आएका छन् । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको उपस्थिति रहेको छ । पार्टीका ७ सल्लाहकारमध्ये ३ जना अनुपस्थित रहेका छन् ।

बैठकमा एमसीसी र पार्टी महाधिवेशनको विषयमा पनि छलफल सुरु भएको छ । बैठकमा उपस्थित सबै नेताहरुले एमसीसीको काम अगाडि बढाउन दिन नहुनेमा धारणा राखेका छन् भने पार्टी महाधिवेशन चुनावपछि गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*