देशभर थप १७ जनामा कोरोना संक्रमण , मकवानपुर संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ४३ जनामा नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी, शनिबार ४०९ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
यसैबिच मकवानपुर जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य रहेको छ । यो सँगै आजबाट मकवानपुर जिल्लामा कोरोना मुक्त भएको छ ।
आफ्नै घरमा रहेका ११ जना संक्रमित आज शनिबार संक्रमण मुक्त भएसंगै जिल्ला संक्रमण मुक्त भएको हो ।
जिल्लामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमित नथपिएको र ११ जना संक्रमण मुक्त भएसंगै सक्रिय संक्रमितको संख्या शून्य भएको हो ।
मकवानपुरको किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्रमा गरिएको स्वाब परीक्षणमा पहिलो पटक वि सं २०७७ जेठ २ गते पर्साका ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
यसैगरि,विसं २०७७ जेठ महिनाकै १५ गते केन्द्रमै गरिएको परीक्षणमा मकवानपुरको हेटौंडा-४ की ७१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा पहिलो,दोस्रो र तेस्रो चरण गरि हालसम्म १७ हजार ८ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यलय मकवानपुरको तथ्याङ्क रहेको छ ।
मकवानपुरमा पहिलो पटकको कोरोना संक्रमणको कारण विसं २०७७ साल भदौ २ गते राति हेटौंडा १ का ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो । वृद्धमा मृत्यु पछि कोरोना पुष्टि भएको थियो ।
जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ७१ जनाको मृत्यु भएको छ । जिल्लामा पहिलो चरणको संक्रमणमा ३२ जनाको मृत्यु भएको थियो । दोस्रो र तेस्रो चरणमा १ सय ३९ जना गरि १ सय ७१ जनाको मृत्यु भएको हो । जिल्लामा गएको माघ तेस्रो सातादेखि कोरोनाको कारण कसैको पनि मृत्यु भएको छैन् ।
























