एक महिनामै सवारी ‘लाइसेन्स’ पाइने प्रणाली विकास हुदै
काठमाडौं । सरकारले अनलाइन आवेदन दिएको एक महिनाभित्रै सवारी चालक अनुमतिपत्र लिन पाउने प्रणालीको विकास गर्ने तयारी थालेको छ ।
आवेदन दिएको दुई वर्षभन्दा लामो समय कुर्नुपर्ने अवस्था भएपछि यातायात व्यवस्था विभागले आगामी दिनमा एक महिनामै सवारी चालक अनुमति लिन पाउने व्यवस्था गर्न लागेको जनाएको छ ।
आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा एक महिना बढी समय लाग्ने देखिएमा आवेदन नलिने गरी प्रणाली विकास गर्न लागेको विभागको भनाइ छ ।
पछिल्लो समय हेर्दा कम्प्युटर प्रणालीमा आवेदकको संख्या धेरै तर सम्पर्क आउने सेवाग्राहीको संख्या एकदमै कम भएकाले लाइसेन्स लिन चाहने सेवाग्राहीका लागि मात्र यस्तो प्रणाली बनाउन लागिएको विभागका महानिर्देशक नमराज घिमिरे बताउनुहुन्छ ।
विभागले हाल मुलुकभरको २४ सेवा कार्यालयबाट दैनिक ६ हजार सात सयले ट्रायल दिन सक्नेछन् । यसको क्षमतालाई १५ हजार पुर्याउने गरी विभागले प्रणाली विकास गर्न लागेको हो ।
आगामी जेठ १५ गतेसम्म बाँकी ५ लाख ७२ हजार सवारी चालक अनुमतिपत्र वितरण गरी सक्ने र त्यसपछिका सेवाग्राहीले एक महिनाभित्रै स्मार्ट सवारी चालक अनुमतिपत्र प्रयोग गर्न सक्ने महानिर्देशक घिमिरेको दाबी छ ।
आवेदन दिने तर ट्रायल परीक्षामा सहभागी हुन आउनेको संख्या एकदमै कम भएपछि विभागले १ देखि १४ दिनका आवेदकलाई १ कै दिनमा ट्रायल दिने व्यवस्था गर्नेछ ।
पछिल्लो समय कुल आवेदन दिएकामध्ये ३० देखि ४० प्रतिशतसम्मले मात्र ट्रायल दिन आएको अवस्था छ । यसले गर्दा आगामी वैशाखको १६ गतेसम्म अहिलेसम्म आवेदन दिएका सबैको ट्रायल परीक्षा सक्ने विभागको भनाइ छ ।
परीक्षाका लागि आवेदन दिने, होल्ड गर्ने तर अत्यावश्यकले पालो नपाउने भएपछि वास्तविक आवेदकलाई मात्र सेवा दिनका लागि प्रणालीमा सुधार गर्न लागेको विभागले जनाएको छ ।
निर्णय राम्रो तर कार्यान्वयन फितलो हुने रोग सरकारी प्रणालीको विशेषता हो । नाराभन्दा काम प्रभावकारी बनाउने तर्फ सरकारी संयन्त्रको ध्यान जान जरुरी छ ।
























