मुलुकलाई संकटमा नेतृत्व प्रदान गर्ने पार्टी कांग्रेस मात्रै हो – नेता सिंह
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्नसक्ने पार्टी कांग्रेस मात्रै भएको बताउनुभएको छ ।
आज बिहान राजधानीको संखमूलमा ‘घर घर जाउ, कांग्रेस जिताउ’ अभियानमा बोल्दै नेता सिंहले ठूला राजनीतिक परिवर्तनको नेतृत्व पनि कांग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास कांग्रेसले नै दिएको भन्दै अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो ।
उहाँले देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिएर अब जनताले नपत्याउने भन्दै जनताले देशको हित गर्ने पार्टी कुन हो, ढुलमुले पार्टी कुन हो छुटाउने बेला आएको बताउनुभएको छ ।
कांग्रेसले मुलुकको राजनीति र सामाजिक आर्थिक रुपान्तरणका लागि महत्त्वपूर्ण भूमिका खेलेको भन्दै नेता सिंहले कामै नगर्ने दलहरुको सपनाको पछि नलाग्न आह्वान गर्नुभयो ।
उहाँले कांग्रेसले सरकारमा हुँदा गरेका राम्रा कामबारे मतदातालाई भन्नुपर्ने बताउनुभयो ।
नेता सिंहले तोकिकै मितिमा निर्वाचन हुने भएकोले अझै पनि निर्वाचन होला र भन्ने भ्रम पालेर नबसी कांग्रेस जिताउन निरन्तर प्रत्येक दिन जनताको घर घरमा पुगेर मतदाताहरुसँग भेटघाट र अन्तरक्रिया लाग्न पनि आग्रह गर्नुभयो ।
























