हेटौंडाको हुप्रचौरमा बन्न लागेको भ्युटावर सहितको बासुदेव बहुउद्देश्यीय भवनको शिलान्यास
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा भ्युटावर सहितको बासुदेव बहुउद्देश्यीय भवनको शिलान्यास गरिएको छ ।
४७ करोड ९३ लाख ७२ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको ११ तले भवनको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरे । शिलान्यास कार्यक्रममा बोल्दै मेयर महतले आफुले चुनाव उठ्नु भन्दा अगाडी आम जनतामाझ घोषणापत्र घोषणा पत्र मार्फत उल्लेख गरेअनुसारनै भवन निर्माण गर्न लागिएको बताए ।
यस भवन निर्माण भएपछी उपमहानगरपालिकाको आन्तरिक श्रोतमा धेरै वृद्धी हुने मेयर महतले बताए । मेयर महतले उपमहानगरपालिकाले पाँच वर्षको अवधिमा धेरै राम्रा गौरबका योजनाहरु निर्माण गरेको र त्यही अनुसार यो योजना पनि रहेको बताए।
उपमहानगरपालिकाको लगानीमा हेटौंडामा बस टर्मिनल, हेटौंडा अस्पतालमा डायलाशिस मेसीन, तरकारी थोक बजार, पीप्ले रंगशाला निर्माण लगायतका काम गरिएको उनले बताए ।

घोषणापत्रमा उल्लेख गरेका भन्दा धेरैनै काम गर्न सफल भएको मेयर महतको भनाई छ । हुप्राचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवनको भ्याट र कन्सल्टेन्सीसहित ९६ करोड ३५ लाख ४४ लाख रुपैयाँ लागत निस्कीएको थियो । त्यस बाहेकमा ठेक्का आव्हान गर्दा ७७ करोड ७६ लाखमा लागत अनुमान गरिएको थियो । कुल लागतमा ३८ दशमलब २८ प्रतिशत घटेर लामा, रसुवा, बानियाँ जेभीले ठेक्का प्राप्त गरर काम सुरु गरेको हो ।
११ तले भवनमा सबै भन्दा मुनी दुई तलाको अण्डरग्राउण्ड, चारतिरबाट लिफ्ट, दुइवटा भ¥याङ, सबै भन्दा माथी भ्युटावर निर्माण गरिने उपमहानगरपालिकाका योजना महासाखाका प्रमुख सत्यनारायण साहले बताए । व्यापारिक भवनको सबै भन्दा माथी भ्युटावरबाट हेटौंडा र आसपासको क्षेत्र सहज रुपमा हेर्न सकिने छ ।
तीन वर्षमा काम सक्नेगरी ठेक्का दिइएको साहले बताए । उपमहानगरपालिकाबाट लिएको काममा गुणस्तर कायम गर्दै समयमानै सकाउने लामा, रसुवा, बानियाँ जेभीका संचालक ऋसी बानियाँले बताए ।
हेटौंडा–४ का वडा अध्यक्ष नबिन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा–१० का वडा अध्यक्ष किताबसिंह लामा, हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्का, उपमहानगरपालिकाका महासाखाका प्रमुखहरु, कर्मचारीहरु, समाजसेविहरु लगाएतकाको आतिथ्यता रहेको थियो ।
























