कृषि विकास निर्देशनालय बागमती प्रदेशको बजेट खर्च २० प्रतिशत
हेटौंडा । कृषि विकास निर्देशनालय बागमती प्रदेशले चालु आर्थिक वर्षको ८ महिनामा जम्मा २० प्रतिशत बजेट खर्च गरेको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा उक्त तथ्याङक प्रस्तृत गरिएको हो । निर्देशनालयको ८ महिनाको प्रगति समिक्षामा कार्यपत्र प्रस्तृत गर्दै कृषि विकास निर्देशनालयका प्रमुख रबिन्द्र बहादुर प्रधानले बजेटको २० प्रतिशत रकम खर्च भएको बताए ।
निर्देशनालयका लागि चालु आर्थिक वर्षमा ५० करोड ५८ लाख ४८ हजार रुपैयाँ बजेट बिनियोजन गरिएको थियो । यो अवधिमा जम्मा १५ करोड ९२ लाख ३५ हजार रुपैया मात्र बजेट खर्च भएको प्रमुख प्रधानले जानकारी दिए । दोश्रो चौमासिकका लागि मन्त्रालयले निर्देशनालयलाइ १५ करोड रुपैयाँ दिए पनि निर्देशनालयले जम्मा सात करोड मात्र अर्थात् दोश्रो चौसासिकमा ६६ प्रतिशत मात्र खर्च गर्न सकेको छ ।
यता मत्स्य विकास केन्द्रले भने निर्देशनालयको तुलनामा धेरै बजेट खर्च गर्न सफल भएको छ । केन्द्रले आर्थिक वर्षको ८ महिनाको अवधिमा ५१ प्रतिशत बजेट खर्च गरेको छ । ३ करोड ९८ लाख बजेट बिनियोजन भएकोमा यो अवधीमा मन्त्रालयले दुई करोड तीन लाख रुपैया बजेट खर्च गरिसकेको छ ।
आगामी आर्थिक वर्ष देखि मन्त्रालयले कृषि सडक तथा ठुला सिचाईं योजना कटौती गर्ने कृषि तथा पशुमन्छी विकास मन्त्री बसुन्धारा हुमागाईंले बताए । आफूले कहिल्यै पनि किसानको फाइल रोक्ने काम नगरेको भन्दै उनले कर्मचारीहरुलाइ कृषकहरुको हितका लागि द्रुत गतिमा काम गर्न निर्देशन दिए । “मैले कहिल्यै पनि पाँच मिनेट भन्दा बढी कसैको पनि फाइल रोकेको छैन,” उनले भने,“अब द्रुत गतिमा काम गर्ने बेला आएको छ ।
स्रोत साधनको कमीको बाहाना हुने गरेको भन्दै उनले मन्त्रालयले स्रोत साधनमा कमी हुन नदिने प्रतिवद्धता जनाए । मन्त्रालय नयाँ गाडि किन्ने योजनामा रहेको बताउँदै उनले अब मन्त्रालय मातहतका कार्यालयहरुलाई गाडि अभाव नहुने बताए । “गाडि चढ्नु पर्छ हामी गाडी किन्ने योजनामा छौ,” उनले भने, “मन्त्रालयले गाडि किन्यो भनेर पत्रकारहरुले लेख्लान तर त्यसले केहि फरक पर्दैन ।”
यसै बिच कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर शरण कुमार पाण्डेले निर्देशनालयको बित्तिय प्रगति निराशाजनक रहेको टिप्पणी गरे । आत्म समिक्षा गर्दै कामलाई तिब्रता नदिए असफल हुने उनले बताए । मन्त्रालयको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको भन्दै उनले कामलाई तिब्रता दिन आग्रह गरे ।
बागमती प्रदेशका पाँच जना कृषकहरु राष्ट्रपति कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् । धादिङका युद्धप्रसाद न्यौपाने प्रथम हुँदै ५० हजार राशीबाट पुरस्कृत भएका छन् भने भक्तपुरकी गीता रिजाल द्धितीय, थाहाकी वरी बल तृतीय हुँदै क्रमशः ४५ र ४० हजार रुपैयाँबाट पुरस्कृत भएका छन् । यस्तै शेरबहादुर तामाङ चौथो र राधिका ढकाल पाचौं भएका छन् । उनीहरुले क्रमश ः ३५ र ३० हजार रुपैयाँ प्राप्त गरेका छन् । बागमती प्रदेश भित्र रहेर कृषिको क्षेत्रमा नमूना काम गरेको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।
























