काँग्रेसले आज निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने
काठमाडौं । नेपाली काँग्रेसले स्थानीय निर्वाचनमा तालमेलका लागि सैद्धान्तिक निर्णय लिने भएको छ । सोमबार पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिने प्रवक्ता प्रकाशशरण महतले रातोपाटीलाई जानकारी दिए ।
उनले भने, आजको बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय लिन्छ । मोडालिटीबारे पछि टुंगो लाग्छ । उनका अनुसार जिल्लागत भ्रमणबाट फर्किएका प्रतिनिधिको रिपोर्टिङ पछि पदाधिकारीले धारणा राखेर आजै बैठक टुंग्याउने तयारी छ । शुक्रबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सुनाएका छन्
साथै ६ जना प्रदेश सभापतिले पनि रिपोर्टिङ सुनाएका छन् । आइतबार अभियानमा खटेका बाहेक १६ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । आजको बैठकमा १७ जना प्रतिनिधि र शीर्ष नेताले धारणा राख्ने प्रवक्ता महतले बताए ।
सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता तालमेलको पक्षमा देखिएका छन् । बैठकमा संसदीय समिति गठबन्धनको एजेण्डा रहेपनि छलफल गठबन्धन केन्द्रित छ । प्रवक्ता महतले भने, संसदीय समिति गठन गर्ने विषय बैठकको एजेण्डामा छ । आजै गठन हुने नहुने टुंगो छैन ।
























