हेटौंडामा ५६ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिइदैँ

हेटौंडा । १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि देशभर टाइफाइडविरुद्धको खोप दिइने भएको छ । हेटौंडामा समेत चैत २५ गते मनहरीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले खोप अभियानको सुरुवात गरेपछि खोप कार्यक्रममा सुरुवात हुनेछ ।

हेटौंडा उपमहानगरपालिकामा खोप अभियान चैत २५ देखि बैशाख ५ गतेसम्म चल्ने हेटौडा उपमहानगरपालिकाका जन स्वास्थ्य निरीक्षक भोलानाथ चौंलागाईले बताए । देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान सञ्चालनमा हेटौंडामा पनि खोप दिन थालिएको चौलागाईले बताए । ‘मुलुकमा टाइफाइड रोगको संक्रमण र जोखिमको दर उच्च छ,’ उनले भने, ‘तीन वर्षयताको तथ्यांकअनुसार टाइफाइड प्रदूषित पानी र खानेकुराले हुने संक्रामक रोगमध्ये तेस्रो र अस्पताल भर्ना हुने बिरामीमा चौथोमा पर्छ । विगत ५ वर्षको तथाङ्क हेर्दा हरेका वर्ष ४ लाख ५० हजार जनामा टाइफाइडको संक्रमण देखिने गरेको छ ।’

हेटौंडा उपमहानगरपालिकामा १५ महिनादेखि १५ वर्षसम्मका ५६ हजार ४ सय जना बाललिकामा टाइफाइडविरुद्धको खोप दिने लक्ष्य रहेको चौलागाईले बताए । उनका अनुसार संस्थागत वा सामुदायिक विद्यालयलाई खोपकेन्द्र निर्धारण गरिनेछ । विद्यालय नभएका वा कम भएका वडामा बाह्य खोप केन्द्र हुनेछ । अभियानको अन्तिम दिन भने खोप सेवा सञ्चालन गर्ने सबै स्वास्थ्य संस्थामा टाइफाइडविरुद्धको खोप दिइनेछ ।

हेटौंडा उपमहानगरपालिकामा ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई घरमै निमन्त्रणा कार्ड पठाइने छ । चौलागाईले भने, ‘उपमहानगरपालिकामा ११५ विद्यालय केन्द्र र २० वटा स्वास्थ्य संस्था केन्द्र निर्धारण गरेका छौ । जसमा हाम्रो ८० प्रतिशत बालबालिका विद्यालयमै रहने भएकाले सहज हुने छ ।’ बालबालिकाहरूलाई दिइँदै आएको नियमित १२ वटा खोपमा थप १ टाइफाइड विरुद्धको थपेर अव देखि नियमित खोप दिइने छ ।

कोभिड(१९ विरुद्धको खोप लगाएको १४ दिन कटेपछि मात्र टाइफाइडविरुद्धको खोप लगाउन मिल्ने छ । स्वास्थ्य मन्त्रालयका अनुसार १५ महिनादेखि १५ वर्षसम्मका बालबालिका मुलुकभरमा ७४ लाख १५ हजार १ सय ६३ जना छन् । त्यस्तै मकवानपुरमा १ लाख ९ हजार बालबालिका रहेका छन् ।

यस खोप लगाए पस्चात सामान्य ज्वरो आउने,सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने जस्ता सामान्य असर देखिने जन स्वास्थ्य निरीक्षक चौंलागाईले बताए ।

सामान्यतया दूषित खाना वा पानीबाट सर्ने टाइफाइड ज्वरो ‘साल्मोनेला टाइफी’ भनेर चिनिने ब्याक्टेरियाले गर्दा हुने संक्रमण हो । टाइफाइडको संक्रमण भए लामो समयसम्म चर्को ज्वरो आउने, थकाइ लाग्ने, टाउको र पेट दुख्ने, वाकवाकी वा पखाला लाग्ने हुन्छ । कतिपय बिरामीको शरीरमा डाबर देखिन सक्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*