मन्त्रिपरिषदले बैठकले गर्यो यी निर्णयहरु
काठमाडौँ – सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।
चैत २४ गते बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको हो ।
शुक्रबार मन्त्रीपरिषदका निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको पनि बताए ।
त्यस्तै सरकारले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७५ अशोज ५ गतेको निर्णय खारेज गरेको छ । प्रवक्ता कार्कीका अनुसार सरकारले अमलेगञ्ज सबस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, पश्चिम सेती कोरिडोर ४०० केबी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, लाठीनाथ ३३ केबी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।
यस्तै सरकारले श्रम अदालतको अध्यक्षमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको छ । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ ।
राजश्व न्यायाधीकरण पोखराको कानुन सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने, वैदेशिक रोजगार न्यायीकरणको अध्यक्षमा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका न्यायाधीश डा। रवि शर्मा अर्याललाई तोक्ने, भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने, सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने, याक अनुवांशिक श्रोतकेन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करिव १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ ।
त्यस्तै सरकारले सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्व। कृष्णप्रसाद भट्टराई ९किसुनजी० को शालिक र शिलापत्र राख्न स्वीकृत प्रदान गर्ने, विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने, समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिका अध्यक्षमा महाप्रशासकीय अदालतका पूर्व अध्यक्ष काशिराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने, २०७९ साल वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउण्टेन च्याम्पियनशीप २०२२ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने, हिदी खोला जलविद्युत आयोजना इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ९ र भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्व विद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने निर्णय पनि गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।
त्यस्तै सरकारले रोजगार अनुमति प्रणाली इपिएस मार्फत नेपाली नागरिकलाई रोजगारीको लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने, दक्षिण अफ्रिकाको डार्बनमा १ देखि ६ जेठ २०७९ मा आयोजना हुने फिट ग्लोबल कन्फ्रेन्स अफ इलिमिनेशन अफ चाइल्ड लेभर सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल र प्रा। भगवानदास मानन्धरलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
प्रवक्ता कार्कीले सरकारले जेष्ठ नागरिकहरुलाई विशिष्ठ प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय गरेको पनि बताए ।
























