मकवानपुरमा मतदानस्थलको निरीक्षण सुरु
हेटौंडा । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित अनुगमन थालिएको छ । वैशाख ३० गते तय भएको स्थानीय तह निर्वाचनको एकीकृत सुरक्षा रणनीति तयार पारे सँगै अनुगमन थालिएको हो ।
भौगोलिक अवस्था र सुरक्षालाई केन्द्रित गर्दै प्रमुख जिल्ला अधिकारी भतरमणि पाण्डेको नेतृत्वमा धमाधम मतदान स्थलको निरीक्षण थालिएको छ ।
विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशतभन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुबाट भएको छ ।
जिल्लाभित्र १० वटा स्थानीय तहमा १६५ वटा मतदानस्थल र ३५६ वटा मतदान केन्द्रहरू कायम गरिएको छ । १६५ वटा मतदानस्थलमध्ये सुरक्षाका दृष्टिकोणले १९ वटा अतिसंवेदनशील, ६० वटा संवेदनशील र बाँकी ८६ वटा सामान्य रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।
उनका अनुसार जिल्लाभित्र स्थानीय तहको निर्वाचन भयरहित शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्नका गृह मन्त्रालयबाट प्राप्त स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ का अनुसार कार्य भइरहेको छ ।
‘मकवानपुर जिल्लाको स्थानीय तह निर्वाचन विशेष सुरक्षा योजना जिल्ला सुरक्षा समितिबाट पारित गरी कार्यान्वयनमा ल्याइएका छौं’ उनलो भने, ‘विशेष सुरक्षा योजनाका आधारमा जिल्लाभित्रका करिब ४० प्रतिशत भन्दा बढी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण भइसकेको छ ।’ प्रजिअ पाण्डेले बाँकी मतदानस्थल तथा मतदान केन्द्रहरूको निरीक्षण क्रमशः गरिने जानकारी दिए ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजतपत्र प्राप्त हातहतियारहरू मिति २०७८ साल चैत्र मसान्तसम्म नजिकको प्रहरी इकाइमा बुझाउन हतियार धनीहरूका निर्देशन समेत दिइसकिएको छ ।
जिल्लाका लागि एक हजार ४७३ जना म्यादी प्रहरी छनोट गरिसकिएको छ । उनका अनुसार हाल स्थानीय तहको निर्वाचनका समयमा जिल्लाभित्रका विभिन्न मतदानस्थलरमतदान केन्द्रहरूमा खटिने कर्मचारीहरूको विवरण तयार पार्ने काम भइरहेको छ ।
























