एमाले भटाभट उम्मेदवार छान्दै, गठबन्धनमा मिलेन भागबण्डा
हेटौंडा । आगामी ३० वैशाखमा हुने स्थानीय तह चुनावको तयारीमा नेकपा एमालेसहित गठबन्धनका पाँच दल जुटेका छन् ।
२०७४ सालको चुनावमा बागमतीका १३ जिल्लामध्ये १० जिल्लामा बहुमत तह जितेको एमाले पुरानै विरासत कायम गर्ने योजनासहित चुनावमा होमिएको छ । सबै जिल्लामा सहमतिका आधारमा सर्वसम्मत उम्मेदवार छनोटमा एमालेले जोड दिएको छ ।
यता, पाँचदलीय गठबन्धन भने उम्मेदवारको भागबण्डा मिलाउनैमा व्यस्त छ । बागमतीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चा एक भएर चुनावमा जाने तयारी गरिरहेका छन् ।
चुनावको आन्तरिक तयारीलाई तीव्र बनाएर गठबन्धनका पाँच दलसँग एक्लै भिड्ने आँटमा रहेको एमालेले बागमती प्रदेशभर उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । प्रदेशका १३ जिल्लामध्ये कतिपयले पालिका अध्यक्ष, उपाध्यक्षसहित वडा अध्यक्षका उम्मेदवार सर्वसम्मत र धेरै आकांक्षी भएका स्थानमा माथिल्लो कमिटीलाई नाम सिफारिस गरिसकेको एमाले प्रदेशका उपमहासचिव तथा प्रचारप्रसार प्रमुख महेश बर्तौलाले जानकारी दिए ।
मंगलबार साँझसम्म सबै जिल्लाले उम्मेदवारको नाम सिफारिस गरिसक्ने गरी तयारी गरेको बर्तौलाले बताए । ‘सबै जिल्लाले तयारी अन्तिम चरणमा पुर्याएका छन् । जिल्लाहरूले भोली बेलुकासम्म उम्मेदवारहरूको नाम प्रदेश कमिटीमा सिफारिस गर्ने छन् । बुधवार बेलुकासम्म हामीले केन्द्रीय कमिटीमा पठाइसक्छौं,’ बर्तौलाले भने ।
एमालेले १३ जिल्लामध्ये अधिकांश पालिकामा सर्वसम्मत उम्मेदवार चुनेको र धेरै आकांक्षी भएका स्थानमा नाम सिफारिस गर्ने बर्तौलाले बताए । प्रदेशको कुल एक सय १९ स्थानीय तहमध्ये गत चुनावमा काठमाडौं महानगरपालिका र हेटौंडा उपमहानगरपालिका, ३३ गाउँपालिका र ३१ नगरपालिका प्रमुख एमालेले जितेको थियो । ३८ गाउँपालिका उपाध्यक्ष ३१ वटै नगरपालिका उपप्रमुख पनि एमालेले जितेको हो ।
२०७४ को चुनावमा बागमतीका ५२ प्रतिशत स्थानीय तह जितेको एमालेलाई आगामी चुनावमा पुरानै विरासत जोगाउन भने मुस्किल पर्ने देखिन्छ । एकातिर पार्टी विभाजन र अर्कोतिर पाँच दल एकजुट भएपछि एमालेले पुरानै सफलता हात पार्ने सम्भावना कम रहेको आंकलन गर्न सकिन्छ । तर, एमालेले विगतको भन्दा पनि बढी सिट जित्नेमा विश्वस्त रहेको एमाले बागमतीका उपमहासचिव बर्तौला बताउँछन् । उनले पाँच दललाई भन्दा एमालेलाई मतदाताले बढी रुचाउने र विगतको भन्दा राम्रो नतिजा ल्याउने दावी गरे ।
२०७४ को चुनावमा ललितपुरसहित ९ नगरपालिका, २६ वटा गाउँपालिका तथा नगर उपप्रमुख १० जना र २८ जना गाउँपालिका उपाध्यक्ष जितेको कांग्रेसले गठबन्धनको नेतृत्व गरिरहेको छ । स्थानीय तहको प्रमुख र उपप्रमुख गरी ६७ सिट जितेको कांग्रेसले गठबन्धनको बलमा प्रदेशको ठूलो दल बन्ने योजना बुनेको छ ।
एमालेले उम्मेदवार टुंग्याएर निर्वाचन प्रचारप्रसार बढाइरहँदा गठबन्धनका दलहरू भने अझै भागबण्डा मिलाउनै व्यस्त छन् । पाँच दलभित्र भागबण्डा मिलाउन सकस परिरहेको छ । काठमाडौंमा सोमबार बसेको प्रदेश गठबन्धन संयन्त्रको बैठकबिना निष्कर्ष टुंगिएको छ । सहमति नजिक भन्दै गठबन्धन संयन्त्र फेरि छलफलमा बस्ने गरी बैठक टुंगिएको कांग्रेस प्रदेशका मुख्य सचिव तथा गठबन्धन संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए ।
चुनावका लागि बागमती प्रदेशमा सत्ता साझेदार दलको पाँचदलीय गठबन्धन सहमति नजिक पुगेको नेपालले बताए । प्रदेशका १ सय १९ पालिका र एक हजार एक सय २१ वडामा नै आवश्यकता र औचित्यको आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको पाँचदलीय गठबन्धन संयन्त्रका सचिव राजु नेपालले जानकारी दिए । आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने बताए पनि भागबण्डामा कुरा नमिलेको माओवादीका एक नेताले जानकारी दिए ।
आइतबार र सोमबार दुई दिन गठबन्धन बैठक बसे पनि भागबण्डामा कुरा नमिलेको हो । माओवादी केन्द्र प्रदेशका उपाध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले गठबन्धन गरेर चुनावमा जाने सहमति भए पनि भागबण्डाको विषय टुंग्याउन बाँकी रहेको बताए । ‘छलफल धेरै भइसक्यो । अब छलफल भन्दा पनि वास्तविक निचोड निकालौं भनेर बसेका छौं । जिल्ला–जिल्लाबाट टुंग्याएर प्रदेशबाट केही दिनभित्रै भागबण्डाको कुरा मिल्नेछ’, पुलामीले भने, ‘गठबन्धन पहिला पनि भएको हो । अहिलेको गठबन्धन उपयुक्त रिजल्ट आउने गरी गरौँ भन्नेमा हाम्रो जोड छ ।’
यसअघि बागमती प्रदेशमा पाँचदलीय गठबन्धनले आ–आफ्नो दलमा पालिका र वडामा मतको विश्लेषण र प्रतिवेदन बुझाउन मातहतका निकायलाई निर्देशन दिइसकेका । बागमती प्रदेश गठबन्धनले पनि तत्कालै साझा सहमति गरेर केन्द्रमा प्रतिवेदन बुझाउने तयारी रहेको सचिव नेपालले जानकारी दिए ।
प्रदेशले भागबण्डा नटुंग्याउँदा जिल्लामा पनि अलमल रहेको नेताहरूले बताएका छन् । जिल्लास्थित गठबन्धनका संयन्त्रहरू पटक–पटक छलफलमा बसे पनि प्रदेशकै मुख हेरिरहेको बुझिएको छ । कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले प्रदेशको गठबन्धन संयन्त्रको निर्देशन नआई जिल्लामा भागबण्डा नटुंगिने बताए । शिलापत्रबाट साभार ।
























