माओवादीले पोष्टरबाट हटायो कुलमानको तस्वीर
काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङको तस्वीर प्रयोग भएको पोष्टर हटाएको छ ।
कुलमानको तस्वीर प्रयोग गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजमा बुधबार बिहान पोष्ट गरिएको तस्वीर अहिले हटाइएको छ ।
अहिले प्रचण्डको फेसबुक पेजमा फोटो हटाएर ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको’ लेखिएको छ भने प्रचण्डको मात्र तस्वीर भएको पोष्टर राखिएको छ । कुलमानले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका थिए ।
पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका थिए ।
निर्वाचन आचारसंहिता र कर्मचारी आाचारसंहित दुवैले कुलमान तस्वीर प्रयोग गर्न नमिल्नेमा माओवादी केन्द्रले उनको तस्वीर प्रयोग गरेको थियो ।
























