‘शैक्षिक गुणस्तर सुधार्न सरकारसँगै अभिभावक जिम्मेवार’

हेटौंडा । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले शिक्षाको गुणस्तर सुधार गर्न सरकारसँगै विद्यार्थी, शिक्षक, अभिभावक जिम्मेवार बन्नुपर्नेमा जोड दिनु भएको छ ।

बुधबार हेटौंडा उपमहानगरपालिका १३ पदमपोखरी स्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित अक्षयकोष दाता सम्मान, दीर्घसेवा शिक्षक सम्मान तथा बिदाई र एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी, शिक्षकसँगै अभिभावकले महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउँनुभयो ।

सबै पक्ष जिम्मेवार भए विद्यार्थीको भविष्य राम्रो हुने भन्दै उहाँले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको रामेछाप स्थित गाउँको उदाहरण दिनुभयो । ‘विद्यालयको जग्गा हेरेपनि पर्याप्त छैन, ठाउँ हेरेपनि उस्तै छ भीर,’ उहाँले भन्नुभयो, ‘तरपनि त्यहाँको शिक्षाको गुणस्तर र मिहेनत हेर्दा निक्कै खुशी लाग्दो छ ।’


तामाङ बस्ती भएपनि रामेछापको कुलमान घिसिङको गाउँको विद्यालय पढेका सबै विद्यार्थी डाक्टर, ईन्जिनियर भएको भन्दै मन्त्री मोक्तानले शैक्षिक गुणस्तर बढाउँदै असल नागरिक बनाउँन शिक्षक, विद्यार्थीसँगै अभिभावकपनि जिम्मेवार बन्नुपर्ने तर्क गर्नुभयो ।

असल, सभ्य, अनुशासित नागरिक बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षकसँगै अभिभावक बढी सचेत बन्नुपर्ने उहाँको भनाई छ । ‘विद्यालयमा १०–४ बजेभित्र मात्र अनुशासित बनाएर बालबालिका बन्दैन,’ उहाँले भन्नुभयो, ‘परिवारले पनि छोराछोरीलाई अनिवार्य अनुशासित बनाउँनुपर्छ ।’
कार्यक्रममा महेन्द्र माध्यमिक विद्यालयमा लामोसमय अध्यापन गराउनु भएका पूर्व शिक्षकहरु रामकृष्ण रोक्का र श्यामकुमार भारद्वाजलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । साथै, विद्यालयको अक्षय कोषमा आर्थिक सहयोग गरेको भन्दै स्थानीय चन्द्रबहादुर वाईबा र गोपी बर्तौलालाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।

सम्मानितहरुलाई कार्यक्रमकी प्रमुख अतिथी मन्त्री मोक्तानले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो । साथै, विद्यालयबाट कक्षा १० उत्तिर्ण गरेका एसईई परिक्षार्थीहरुलाई बधाई तथा शुभकामना पनि प्रदान गरिएको थियो ।

महेन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष शंकरबहादुर रोक्काको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १३ का वडा अध्यक्ष मनोजकुमार वाईबा, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दीनानाथ गौतम, विद्यालय व्यस्थापन समितिका सदस्य बिरबहादुर गोले ‘सानु’, समाजसेवी बसन्तकुमार लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*