मदन- आश्रीतको शालिक तोडफोड गर्नेलाई युवा संघद्वारा कार्वाहीको माग
हेटौंडा । एमाले निकट राष्ट्रिय युवा संघ,नेपाल मकवानपुरले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको अर्धकदको शालिक तोडफोड गर्नेलाई कडा कारबाही गर्न माग गरेको छ । युवा संघ मकवानपुरका कार्यवाहक अध्यक्ष कृष्ण लामिछानेले एक विज्ञप्ती जारी गर्दै हेटौंडा ९ दिब्य बाल उद्यानमा रहेको मदन–आश्रितको शालिक तोडफोड भएकोमा युवा संघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
‘नेपाली समाजको प्रगतिशील रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरी समृद्ध नेपाल,सुखी नेपालीको आधार तयार गरिरहेको हाम्रो पार्टी नेकपा एमाले आस्था र विश्वासको धरोहर भण्डारी र आश्रितको शालिक तोडफोड गर्नुभनेको आपराधिक एवं अराजकताको पराकाष्ट हो । लामिछानेद्वारा जारी विज्ञप्तीमा भनिएको छ,राष्ट्रिय युवा संघ नेपाल मकवानपुर यस अराजक तथा अपराधिक घटना प्रति घोर भर्त्सना गर्दछ । यस्ता खाले गतिविधि गर्ने तत्वहरुको पहिचान गरी कडा भन्दा कडा कारबाही गर्न जिल्ला स्थित स्थानीय प्रशासनलाई हामी आग्रह गर्न चाहन्छौ ।’
यसैगरि कार्यवाहक अध्यक्ष लामिछानेले एमालेविरुद्ध चौतर्फी प्रतिक्रियावादी घेराबन्दी भइरहेको भन्दै षडयन्त्रकारी तथा अपराधिक गतिविधि गर्नेहरु विरुद्ध सशक्त प्रतिवादमा उत्रिन मातहत कमिटीलाई निर्देशन समेत दिएका छन् ।
























