एमाले हेटौंडाको चुनावी घोषणा : मासिक १० हजार लिटर खानेपानी नि:शुल्क
हेटौंडा – स्थानिय तहको निर्वाचन नजिकिएसँगै नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । यसै सन्दर्भमा एमाले हेटौंडा उपमहानगर कमिटीले पनि नगर भित्र गर्ने कामहरुको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ ।एमाले हेटौंडा नगर कमिटीले सार्वजनिक गरेको घोषणा पत्र अनुसार नगर भित्रका हरेक घरमा मासिक १० हजार लिटर नि:शुल्क खानेपानी देखि लिएर हेटौंडाको परिचय तथा यहाँ रहेको परम्परागत संस्कृति झल्काउने गरि हिडिम्बा टावर निर्माण गर्ने सम्मका योजनाहरु रहेका छन् ।
घोषणा पत्रमा एमालेले हेटौंडा उपमहानगरपालिकाको आगामी ५ वर्षको योजनाको रुपमा मुख्यगरी दीर्घकालीन सोचसहितको योजनाबद्ध विकास, पूर्वाधार तथा शहरी विकास, आर्थिक विकास, सामाजिक सांस्कृतिक विकास, वन, वातावरणको संरक्षण तथा विपद् ब्यवस्थापन, सुशासन र संस्थागत विकास तथा राजस्व, खर्च, बाह्य स्रोत र सहकार्यलगायतका बुँदाहरुमा केन्द्रित रहेर योजनाहरु निर्माण गरेको छ ।
यसैगरी हेटौंडा उपमहानगरपालिकालाई समय समयमा रणनीतिक परामर्शका लागि सबै पक्ष समेटेर नगर बिकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मुल्यांकनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरु योजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने, नगर यातायात गुरुयोजना तयार गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
त्यसैअनुरुप हेटौंडाको यातायात ब्यवस्थापन तथा संघीय सरकारको निर्देशन अनुसार २५ मिटर सडक बिस्तार गर्ने अथवा बैकल्पिक सडक निर्माणको काम गर्ने भन्ने बिषयलाई पनि कार्यान्वयन गर्ने, नगर भित्रका अभिभावकबिहिन तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई निस्शुल्क उच्छ शिक्षाको लागि छात्रवृत्ति प्रदान गर्ने बताइएको छ ।शुक्रबार नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य रामेश्वर राना र केन्द्रिय सल्लाहकार सदस्य डोरमणी पौडेलले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको थियो भने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रतिबद्धता पत्र समेत घोषणा (वाचन) गर्नुभएको थियो ।
स्थापना दिवसमा नेकपा एमालेद्वारा जेष्ठ संगठित सदस्य सम्मानित
हेटौंडास् नेकपा एमाले हेटौंडा उपमहानगर कमिटीले उपमहानगरपालिका भित्रका जेष्ठ संगठित सदस्यहरुलाई सम्मान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीको ७४ औअं स्थापना दिवसको अवसरमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रममा नेकपा एमालेको संगठित सदस्य भएर काम गरेका ७० वर्ष भन्दा माथिका बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो ।
हेटौंडाका १९ वटै वडाका १ सय ५९ जना जेष्ठ संगठित सदस्यहरुलाई सम्मान पत्र, पौष्टिक आहारसहित खादा लगाएर सम्मान गरिएको हो । पार्टीको स्थापना कालदेखी हालसम्म पार्टीको लागि अबिस्मरणीय योगदान गर्नुहुँदै आजका दिन सम्म पनि कम्युनिष्ट बिचारधारालाई अंगाल्दै नेकपा एमालेमा आवद्ध हुनुभएकोमा आगामी दिनमा सु(स्वास्थ्य र दिर्घायुको कामनासहित सम्मान पत्र प्रदान गरिएको थियो ।

























