पूर्वमुख्यमन्त्री पौडलद्वारा भूमिहीनलाई लालपुर्जा दिने अवसर नपाएको भन्दै दुःख व्यक्त
हेटौंडा । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणी पौडलले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा प्रमाण पत्र लालपुर्जा दिने अवसर नपाएको भन्दै दुःख व्यक्त गरेका छन् ।
आज हेटौंडा-११ सिमलटारमा भएको नेकपा एमाले ११ नंबर वडा कमिटीको निर्वाचन सम्पर्क कार्यलय उद्घाटन कार्यक्रममा बोल्दै उनले गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्दा सुकुम्बासीलाई लालपुर्जा दिन नसकिएको बताए ।
उनले सुकुम्बासीलाई लालपुर्जा दिन एमाले सरकारले काम गरिरहेको अवस्थामा राजनीतिक घटनाक्रमको कारण सरकारबाट बाहिरिदा गठबन्धन सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको बताए । उनले लालपुर्जा दिन अन्तिम अवस्थामा पुग्दा गठबन्धन सरकारले आयोगनै खारेज गरेको टिप्पणी गरे । उनले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा एमालेलाई आफ्नो अमूल्य मत दिन अनुरोध गरे ।
पूर्वमुख्यमन्त्री पौडलले एमाले पुनः सरकारमा पुग्ने भन्दै सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गा प्रमाणपत्र लालपुर्जा दिने बताए ।
उनले अघिल्लो स्थानीय निर्वाचनमा हेटौंडा-११ वडामा एमालेले विजयी हुँदा धेरैनै विकासका कामहरु भएको दाबी गरे । यसैगरि पौडेलले युवाहरुलाई आर्थिक क्षेत्रमा सबल बनाउन स्वरोजगारमूलक व्यवसायिक योजना सहित एमाले अघि बढेको बताए ।
यसैगरि,कार्यक्रममा बोल्दै हेटौंडा-११ का वडाध्यक्ष गोर्कण पराजुलीले वडामा सडकको विस्तार,बिद्युतिकरण,स्वास्थ्य,शिक्षा लगाएतको क्षेत्रहरुमा उल्लेखिय कामहरु भएको बताए । उनले वडामा एमाले नेतृत्व विजयी हुँदा वडामा कामहरु भएको भन्दै आउँदो स्थानीय निर्वाचनमा पनि वडामा एमाले विजयी हुने बताए ।
वडाध्यक्ष पराजुलीले सिमलटार,गोल्फिनटारसागरपथ तथा थानाभर्याङ क्षेत्रमा खानेपानीको समस्या रहेको भन्दै यसको लागि छिट्टैनै खानेपानीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए ।
एमाले हेटौंडा-११ का वडा अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले मकवानपुरको सचिवालय सदस्य जुना दाहाल,सुमित्रा काफ्ले जिल्ला सदस्यहरु रामचन्द्र न्यौपाने,सन्तोष चौलागाई,नगर अध्यक्ष शालिकराम पुडासैनी लगाएतको उपस्थिति रहेको थियो ।
























