एमालेलाई दिएको भोट खेर जादैनः पौडेल

हेटौंडा । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले एमालेलाई दिएको भोट खेर नजाने बताउनुभएको छ । समृद्धि र परिवर्तनका लागि एमालेको बिकल्प नभएको पनि उहाँको भनाई थियो ।

आज हेटौंडा–१२ मा नेकपा एमालेको प्रचार प्रसार कमिटी गठन कार्यक्रममा बोल्नुहुँदै नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य समेत रहनुभएका पौडेलले नेपालभरी लाखौं मान्छेको एमालेप्रतिको क्रेज बढेको बताउनुभयो । उहाँले भन्नुभयो– “अरु पार्टीले केही गर्दैन एमाले नै बिकासको मुल फुटाउने पार्टी हो ।” उहाँले थप्नुभयो– “अन्य पार्टीका नेता तथा कार्यकर्ताहरु नै एमाले प्रबेश गरेको देखेर गठबन्धन आतंकीत भएका छन् । गठबन्धनको आत्मबल छैन आफैं प्रति बिश्वास गर्न सकेका छैनन् ।”

एमाले एक्लै अरु सबै शक्ति एकातिर हुँदा पनि गठबन्धनका दलहरु एमालेसँग डराइरहेको उहाँको भनाई थियो । नेकपा एमालेले केही गरेन हैन के गरेन भनेर गठबन्धनलाई सोध्न उहाँले चुनौती दिनुभएको छ । उहाँले शिक्षा, स्वास्थ लगायत भौतिक बिकासमा एमाले भन्दा अगाडी कोहि आउन नसक्ने दाबी गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको नारा सार्थक बनाउन एमाले लागेको र लागिरहने उहाँले बताउनुभयो ।

नेकपा एमालेका केन्द्रिय सदस्य तथा मकवानपुर सहइन्चार्ज जुनेली श्रेष्ठले सहि ब्यक्तिले चुनाब जित्यो भने विकास राम्रो हुने बताउनुभएको छ । नेकपा एमालेले हरेक स्थानमा सहि उम्मेदवार छानेको समेत बताउनुभयो । अहिलेको गठबन्धन भनेको काम गर्न हैन एमाले हराउने मात्र ध्याउन्नमा लागेको उहाँले बताउनुभएकोे । जनताको मनमा बसेको पार्टी एमाले भएकोले एमालेका उम्मेदवार जित्न जरुरी रहेको पनि उहाँले दाबी गर्नुभयो ।

हेटौंडा–१२ मा वडाध्यक्ष पदका उम्मेदवार राजेश नगरकोटीले नेकपा एमालेले मात्र समृद्धिको काम गर्न सक्ने बताउनुभयो । हेटौंडा १२ लाई समृद्ध वडा बनाउने आफ्नो प्रमुख काम रहेको नगरकोटीको भनाई छ । नेकपा एमाले हेटौंडा १२ नम्बर वडा कमिटीका अध्यक्ष बखान सिंह घलानको संयोजकत्वमा ५ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी समेत घोषणा गरिएको छ ।

वडा कमिटी अध्यक्ष घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्यहरू सुमित्रा काफ्ले, आरती पाठक, वडा सदस्य पदका उम्मेदवारहरु रुक्मिणी स्याङ्वो, ज्ञानबहादुर श्रेष्ठ, महेश भट्टराई, गिता परियार लगायतकाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*