एमालेबाट हेटौँडाको मेयरमा पौडेल र उपमेयरमा काफ्ले उम्मेद्वार
हेटौँडा । नेकपा एमालेको हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडल उम्मेद्वार बन्ने भएका छन भने उपमेयरमा सुमित्रा काफ्ले उम्मेद्वार बन्ने भएकि छिन् । एमालेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बागमती प्रदेशको राजधानी समेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको प्रमुख(मेयर) तथा उपप्रमुख (उपमेयर) पदमा उम्मेद्वारुहरु टुंगो लगाएको छ । नेकपा एमालेको काठमाण्डौंमा भएको केन्द्रीय सचिवालय बैठकले मेयरमा संविधानसभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय निर्वाचन विभाग सदस्य अनन्तप्रसाद पौडेललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
बैठकले उपमेयरमा नेकपा एमाले मकवानपुरकी सचिवालय सदस्य सुमित्रा काफ्लेलाई उम्मेद्वार बनाउने औपचारिक निर्णय गरेको छ । गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र माओवादीको गठवन्धनलाई पराजित गर्दै एमालेले हेटौँडामा विजयी हाँसिल गरेको थियो । एमालेबाट सिफारिस भएका वर्तमान मेयर हरिबहादुर महतले भने यो पटक टिकट पाउन सकेनन् । २०४९ साल र २०५४ सालमा उपमेयर तथा २०७४ मा मेयर भएका महत ३० वर्षपछि हेटौँडा नगरबाट बाहिरहने भएका छन् ।
नेकपा एमालेका पूर्व नारायणी अञ्चल सचिव, पटक पटक मकवानपुरको नेतृत्व, पूर्व वागमती प्रदेश कमिटिका संगठन विभाग प्रमुख रहेका पौडेल पुराना तथा अनुभवी नेता हुन् । दोश्रो संविभानसभामा मकवानपुरबाट विजयी भएका पौडेलले संविाधान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नेकपा एमालेलाई मकवानपुरमा स्थापित गर्न पौडेलको महत्वपूर्ण भूमिका रहेको छ ।
एमालेबाट उपमेयरको उम्मेद्वार बनेकी काफ्ले अनेमासंघको राजनीतिबाट एमालेको मूल राजनीतिमा स्थापित भएकी महिला नेतृ हुन् । पार्टीको राजनीतिबाहेक विभिन्न सामजिक अभियानमा समेत जोडिएकी काफ्ले हेटौँडाकी लोकप्रीय महिला नेतृमा पर्छिन् । समग्रमा हेर्दा एमालेले यो पटक पनि हेटौँडामा अनुभवी र युवाको मिश्रण गर्दै मेयर तथा उपमेयरको उम्मेद्वार चयन गरेको देखिएको छ ।
























