हेटौंडामा ९७ पद , ३ सय ९६ जनाको उम्मेदवारी
मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाहरूमा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । उपमहानगरपालिकाको १९ वटै वडामा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र सदस्य पदका लागि ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ता गराउन आइतबार र सोमबार गरी दुई दिएको समय दिएको थियो । उक्त समय अवधिमा हेटौंडाको १९ वटै वडामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जनता समाजवादी, राप्रपालगायत विभिन्न राजनीतिक दलको तर्फबाट र स्वतन्त्र तर्फबाट आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।
हेटौंडा उपमहानगरपालिकाको एक मेयर पदका लागि २१ जना उपमेयर पदका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । कार्यालयका अनुसार, हेटौंडाको मेयरको लागि गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दीपा लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।
यता एक उपमेयर पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । उपमेयर पदका लागि सत्तारुढ गठबन्धनको तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए । यो समाचार हामीले रातोपाटीबाट साभार गरेका हौं ।
























