विश्वराज पोखरेललाई आईजीपीमा बढुवा गर्न गृहको प्रस्ताव
काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ ।
मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा तेस्रो नम्बर वरियतामा रहेका धिरजप्रताप सिंहलाई आईजीपी बनाउने पक्षमा थिए ।
केपी शर्मा ओली नेतृत्वको सरकारले पोखरेललाई आईजीपी बन्ने रोलक्रममा राख्ने गरी एकल बढुवा गरेर अघि सारेको भन्दै कांग्रेसका केही नेताहरु रुष्ट थिए र विकल्पका रुपमा सिंहलाई अघि सारिएको थियो ।
तर आइतबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावका वेला वरियता मिचेर आईजीपी नियुक्त गर्दा विवाद हुन सक्ने बताएको स्रोत बताउँछ । गृहमन्त्री बालकृष्ण खाँण पनि वरियताक्रम अनुसार नै आईजीपी नियुक्त गर्नुपर्ने पक्षमा थिए ।
तर प्रधानमन्त्री देउवा चाहिँ अझै आईजीपी नियुक्तिबारे परामर्शमै रहेको बालुवाटार स्रोत बताउँछ ।
























