ओलीले भने – नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेको

मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेको भएको बताएका छन् । मंगलबार मोरङको मिक्लाजुङ गाउँपालिकामा एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित बृहत चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले नेपाललाई आधुनिक युगमा पुर्‍याउने जिम्मा एमालेको भएको बताएका हुन् ।

नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले रहेको जिकिर गर्दै अध्यक्ष ओलीले भनेका छन्, ‘आत्मनिर्भर अर्थतन्त्र, उत्पादन बृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरणलगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ । कोही पनि अलमलमा नपरिकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ ।’

त्यस्तै उनले युवाहरुलाई विदेश पठाउने नभई मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन् । यसअघि उनले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका थिए । ‘समृद्ध नेपाल र सुखी नेपालीको अभियान एमालेले चलाइरहेको छ । अभियानलाई सार्थक तुल्याएर मुलुक बनाउने महाअभियानमा सबै सहभागी बनौं’, उनले आग्रह गरे ।

अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउन अपील गर्दै अध्यक्ष ओलीले फेरि भनेका छन्, ‘एमालेका जनप्रतिनिधिले गाउँ, शहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ । जनतासँगका प्रतिवद्धता पूरा गर्ने छौँ । जनतालाई कहिल्यै धोका दिदैनौं ।’

उनले थपे, ‘एमालेको सरकार स्थानीय तहमा भएन भने माथिबाट पठाएको बजेट बालुवामा पानी हालेजस्तो हुन्छ । त्यस्ता दुरुपयोग रोक्न पनि तीनै तहमा एमालेको सरकार आवश्यक छ ।’

यसका साथै अध्यक्ष ओलीले अहिले सबैभन्दा पीर मुलुकमा कांग्रेसका कार्यकर्तालाई परिरहेको बताउँदै उनले भनेका छन्, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । अर्कातिर मेरी छोरीलाई भोट हालेनौ भनेर मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । कांग्रेसजनले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरुको जिम्मा लिनुपर्छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*