हेटौँडा-११ का वडाअध्यक्ष दाहालद्वारा पदभार ग्रहण
मकवानपुर, ९ जेठ । हेटौँडा उपमहानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुले आज सपथ ग्रहण गरेसँगै हेटौँडा ११ का नवनिर्वाचित वडाअध्यक्ष जुना दाहालले पदभार ग्रहण गर्नुभएको छ । हेटौँडा -११ नवलपुरमा रहेको वडा कार्यालयमा वडाअध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो ।
पदभार ग्रहण गर्दै दाहालले वडावासीको मनोभावनाको कदर गर्दै अबको ५ वर्ष समृद्ध, समुन्नत वडा बनाउन आफु अहोरात्र लागीपर्ने बताउनुभयो । वडाको पूर्बाधार विकास, युवा र महिलालाई स्वरोजगार मुलक कार्यक्रम संचालन गरिने बताउनुभयो । साथै जनताको सेवा गर्न कुनै कसर बाँकी नराख्ने उहाले बताउनुभयो । पदभार ग्रहण कार्यक्रममा निवर्तमान वडाअध्यक्ष गोकर्ण प्रसाद पराजुलीले स्वागत गर्दै बधाई शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा हेटौँडा ११ का वडा सचिव जीवन ढुङ्गेल, निवर्तमान वडाअध्यक्ष गोकर्ण प्रसाद पराजुली, नेकपा एमाले पार्टीका जिल्ला ईञ्चार्ज रामेश्वर राना, युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई, नेपाली काँग्रेस हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ का सभापति दिपक उप्रेती, अनेम संघका जिल्ला अध्यक्ष सुमित्रा काफ्ले, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु र स्थानीयवासीको उपस्थिति रहेको थियो ।
























