वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरिने
हेटौंडा ,१६ जेठ । विश्व वातावरण दिवसको अवसरमा हेटौंडामा सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ ।
५० औँ विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले आजबाट २२ जेठसम्म सप्ताहव्यापी कार्यक्रम गर्ने भएको हो ।
‘सबैको साझा पृथ्वी’ भन्ने मूल नाराका साथ यस वर्षको वातावरण दिवस मनाउन लागिएको टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष एवम् विश्व वातावरण दिवस मूल आयोजक समारोह समितिका संयोजक ध्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत् आज रक्तदान कार्यक्रमको आयोजना हुने संयोजक अधिकारीले जानकारी दिए । टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा–११ को संयोजनमा बिहान ७ बजेबाट हेटौंडा–११ स्थित सामूदायिक प्रहरी सेवा केन्द्रमा रक्तदान कार्यक्रम गरिने अधिकारीले बताए ।
जेठ १७ गते खानेपानी व्यवस्थापन बोर्डको संयोजनमा खानेपाी सरसफाई स्वच्छता सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिनेछ । अन्तरक्रिया हेटौंडास्थित रोयल प्यालेसमा आयोजना गरिने जनाइएको छ ।
कार्यक्रम तालिका अनुसार १८ गते हेटौंडा–८ राजपानीमा वडा समन्वय समितिको संयोजनमा वृक्षारोपण कार्यक्रम हुनेछ । यसैगरी १८ र १९ गते सामूदायिक वन उपभोक्ता महासंघको संयोजनमा राप्ती खोला विशेष सरसफाई कार्यक्रम, १९ गते ४० माइक्रोन तलको प्लाष्टिक झोलामा लगाइएको प्रतिबन्ध सम्बन्धित सरोकारवालाहरुसँग अन्तरक्रिया २० गते बजार क्षेत्र विशेष सरसफाई, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, २१ गते वातावरण सचेतनामूलक साईकल र्याली र मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता र रानी सामूदायिक वनको कार्यालयमा वक्तृत्वकला प्रतियोगिता तथा जेठ २२ गते ९ जुन ५० ५० औं विश्व वातावरण दिवसको दिन बिहान ७ हुप्रचौरबाट बाजागाजा झाँकीसहितको वृहत वातावरणीय सचेतना र्याली निकालिने छ । हुप्रचौरबाट बजार परिक्रमा गर्दै रोयल प्यालेसमा समापन कार्यक्रम आयोजना हुनेछ ।
उक्त कार्यक्रममा उत्कृष्ट सन्देशमुलक झाँकीसहित सहभागिता जनाउने टोल विकास संस्था, सामूदायिक संघ संस्था र विद्यालयहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने अधिकारीले जानकारी दिए ।
























