हेटौंडामा यसरी मनाइयो विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस
हेटौंडा । बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा आज हेटौंडामा विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस मनाईएको छ । ‘सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाऔँ’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।
हेटौंडामा बिभीन्न क्षेत्रका सरोकारवाला व्यक्तिको सहभागितामा प्रभातफेरी कार्यक्रम गरेर यो दिवस मनाइएको हो । सुर्तीजन्य पदार्थको प्रयोग गरेमा पर्ने असरका विषयमा जनचेतनामूलक कार्यक्रम गरी मनाइँएको हो । निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ ।
धुवाँ आउने र नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ हुन् । सुर्तीजन्य पदार्थको सेवनले क्यान्सरको जोखिम हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका सदस्य देशहरुले सन् १९८७ मा विश्व धुम्रपानरहित दिवस मनाउनको लागि सुर्तीजन्य महामारी र यसबाट निम्त्याउन सकिने मृत्यु र रोगप्रति विश्वको ध्यानाकर्षण गराएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले सुर्तिजन्य पदार्थ प्रयोग नगर्न आग्रहका साथ बालबालिकालाई खरिद गर्न पठाउने कार्यबन्द गर्न अनुरोध गरेका छन् ।
मन्त्री लामाले बालबालिकालाई प्रयोग गरिएको पाइएमा कारवाही गरिने र विक्री वितरणमा समेत बन्द गरिने बताए । सुरुमा आफुबाट प्रयोग नगर्ने प्रण गरौं र सबैलाई प्रयोग नगरौं भन्दै मन्त्री लामाले प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र बजेट ल्याउने तयारीमा रहेकाले स्वास्थ्य र शिक्षामा बजेट राखेर यी यस्ता कार्यक्रमहरुलाई कार्यान्वयन गरि समाजलाई सुर्तिजन्य पदार्थ रहित बनाउने बताए ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको प्रभातफेरी बजारपरिक्रमा गरी पुनः बुद्धचोक पुगेर सडक नाटक प्रदर्शन गरिएको थियो । प्रभातफेरीमा नेपाल अर्वुद रोग निवारण संस्था मकवानपुर, श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर, स्वास्थ्य कार्यालय, स्वास्थ्य शिक्षण संस्थाहरु, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।
विश्वमा हरेक ८ सेकेन्डमा एक जनाको सुर्तीजन्य पदार्थ सेवनका कारण ज्यान जाने गर्छ । चुरोट, सुर्ती, गुट्खाको प्याकेटमै स्वास्थ्यका लागि हानिकारक छ भनेर उल्लेख गरिएको हुन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वका एक अर्ब ३० करोड सेवनकर्तामध्ये ८० प्रतिशत मध्यम आय भएका देशका नागरिक छन् । बर्सेनि आठ लाखको ज्यान जाने गरेको छ । सुर्तीजन्य पदार्थ सेवनकै कारण सन् २०३० सम्ममा एक करोड भन्दा धेरैको ज्यान जाने अनुमान छ ।
नेपालले सन् २००६ नोभेम्बरमा महासन्धि अनुमोदन गरेको हो । नेपालमा पछिल्लो समय सार्वजनिक ठाउँमा धुम्रपान गर्नेलाई कारबाही गर्ने प्रावधान आए पनि यसको प्रभावकारी नियमन र कार्यान्वयन हुन सकेको छैन ।
























