पुँजी बजारको समस्या समाधान गर्न चार सदस्यीय सुझाव समिति गठन
काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपाली पुँजी बजारमा देखिएका समस्या समाधान गर्न मन्त्रालयले ४ सदस्यीय सुझाव समिति गठन गरेको बताएका छन्।
नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवमा बुधबार सम्बोधन गर्दै मन्त्री शर्माले धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंकका प्रतिनिधिसहित ४ सदस्यीय समिति गठन गरेको बताए।
अर्थमन्त्री शर्माले समितिले दिएको सुझावका आधारमा पुँजीबजार सुधारको काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
उनले पुँजीबजारमा संलग्न रहेका लाखौं लगानीकर्ता र सयौं कम्पनीको समस्यालाई सरकारले गम्भीरतासाथ हेरेर अनुगमनसमेत गरिरहेको बताए।
मन्त्री शर्माले पुँजीबजारलाई व्यवस्थित गर्नेबारे सरकार चिन्तित रहँदै आएको पनि स्पष्ट पारे। उनले अहिले देखिएका पुँजी बजारका समस्या समितिले दिएको सुझावका आधारमा सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाए।
मन्त्री शर्माले अर्थ मन्त्रालयले निरन्तर रूपमा इमान्दारीसाथ पुँजीबजार लगानीकर्ताको रक्षाका लागि काम गरिरहेको पनि दाबी गरे।
उनले भने, ‘आज पुँजीबजारमा संलग्न हजारौं व्यक्ति सयौं कम्पनी छन्। यहाँहरूको समस्या हामीले हेरिरहेका छौं। अनुगमन गरिरहेका छौं। कसरी पुँजीबजारलाई व्यवस्थित बनाउने भन्नेमा हामी पनि चिन्तित छौं। सोही सन्दर्भमा अहिले पुँजीबजारमा देखिएका विविध समस्या समाधान गर्न सुझाव प्रस्तुत गर्नका लागि आजै मात्र हामीले राष्ट्र बैंकका गभर्नर, धितोपत्र बोर्डका अध्यक्ष र हामी बसेर धितोपत्र बजारमा देखिएका समस्या समाधान गर्न ४ सदस्यीय सुझाव समिति गठन गरेका छौं। त्यसले दिएका सुझावका आधारमा त निकायहरूले गर्नुपर्ने काम गर्नेगरी समिति गठन गरेका छौं। हामी निरन्तर लगानीकर्ताको रक्षा गर्ने सन्दर्भमा इमान्दारीसाथ लागिरहेका छौं। हामी सबैको क्षमता बढाउनु जरुरी छ।’
मन्त्री शर्माले अर्थ मन्त्रालय सधैँ नियमनकारी निकाय स्वायत्तता रहनुपर्छ भन्ने पक्षमा रहेको बताए।
उनले पुँजीबजार तथा वित्तीय क्षेत्रका नियमनकारी निकाय स्वायत्तता नै रहेको दाबी गरे। मन्त्री शर्माले अब नियमनकारी निकायले स्वायत्तता मात्रै नभएर जवाफदेहिता र पारदर्शितासहितको स्वायत्तता खोज्नुपर्ने बताए।
आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्यो भने कुरा मिल्ने मन्त्री शर्माको भनाइ छ।
उनले भने, ‘एउटा नियमनकारी निकाय हुनुको नाताले स्वायत्तताको जुन विषय उठेको छ। नियमनकारी संस्था स्वायत्त छन्। त्यो स्वायत्तताको पक्षमा नै अर्थ मन्त्रालय छ। सँगसँगै जवाफदेहिता सहितको स्वायत्तता हुनुपर्छ। हरेक नियमनकारी संस्था जवाफदेही पनि हुनुप¥यो। आफ्नो क्षेत्रको जवाफदेही नहुने र स्वायत्तता मात्रै खोज्यो भने कुरा मिल्दैन। जवाफदेहीता सहितको स्वायत्तताको पक्षमा अर्थ मन्त्रालय छ। जति पनि नेपाल सरकार अन्तर्गतका धितोपत्रलगायत अन्य वित्तीय क्षेत्रका नियमनकारी संस्था छन्, सबैलाई जवाफदेहिता सहितको स्वायत्तता खोज्न हार्दिक अपिल गर्न चाहन्छु।’
मन्त्री शर्माले नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐना बनाउने दिशामा अगाडि बढ्नुपर्ने बताए। उनले धितोपत्र बजार अर्थतन्त्रको ऐना बनाउनका लागि आवश्यक सहजीकरण गर्न अर्थ मन्त्रालय तयार रहेको बताए।
धितोपत्र बजारको समस्या समाधान गर्न नेपालको पुँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रविधिमैत्री बनाउन आवश्यक रहेको मन्त्री शर्माले बताए। बजारलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको खाँचो रहेको भन्दै मन्त्री शर्माले नियमनकारी निकायले छिटो र छरितो प्रविधि ल्याउन आग्रह गरे। उनले त्यसका लागि मन्त्रालय नियमनकारी संस्थालाई सहुलियत र सहजीकरण गर्न तयार रहेको बताए।
























