मकवानपुर जिल्लामा दिनहुँ रुपमा अघोषित लोडसेडिङ
हेटौंडा । मकवानपुर जिल्लामा दिनहुँ रुपमा अघोषित लोडसेडिङ हुने गरेको छ । बिद्युत प्राधिकरणको चरम लापरबाहीका कारण बिधुत अबरुद्ध भएका मकवानपुरका गाउँगाउँमा झनै समस्या छ । कतै पोल बिग्रीएर वा तार झोलिएर भएका सानातिना समस्या पनि प्राधिकरणका कर्मचारीले चासो नदिदा लाइन गएपछी फेरी बाल्नका लागि समस्या छ । अलिकती हुरी चल्यो, पानी पर्यो वा रूखको हाँगा भाँचियो भने बत्ती गै हाल्छ । मकवानपुरका दश वटै स्थानीय तहमा अझ गाउँगाउँका वडाहरुमा बत्ती जान ठूलै कारण चाहिंदैन । बस्, झरी परे पुग्छ, रुख ढले पुग्छ ।
असारको चर्को गर्मीको बेला कहिले दिनभर बत्ती हुँदैन, त कहिले रातभर । लाइन हुन्छ, तर भोल्टेज हुँदैन । फ्यान घुम्दैन, फ्रिज पनि चल्दैन । उकुसमुकुस । अत्यासलाग्दो । यसबाट भएको हैरानी सामान्य छैन । यो मकवानपुरवासीको बर्सेनिको समस्या बनिसकेको बागमती गाउँपालिकाका हर्क थिङ बताउनुहुन्छ । मकवानपुरमा विद्युत अनियमित हुँदा उपभोक्ता आजित बनेका छन् । छिनछिनमा गइरहने विद्युतले उपभोक्ताको दैनिकी नै असहज बन्दै गएको छ । नेपाल बिधुत प्राधिकरण हेटौंडा साखाका कर्मचारीहरु भने हावा हुरीका कारण अबरुद्ध हुने र बिधुतलाइन मर्मतको समयमा बिधुत बन्द भएको बताउँछन् ।
बित्तका चिमहरु फ्यूज हुने, पंखाका क्वाइल जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने र आईसी उड्ने जस्ता समस्या बढ्न थालेका छन् । थोत्रा ट्रान्सर्फमर र पुराना संरचनाका कारण लोभोल्टेज र ओभर भोल्टेजको समस्या पनि उस्तै देखिन थालेको छ । कमजोर संरचनाका कारण हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने गरेको छ । विद्युतको समस्या दोहोरीरहनुमा जीर्ण संरचना र भोल्टेज नै मुख्य कारण भएको प्राधिकरणका कर्मचारीहरु बताउँछन् । ‘पुराना र जीर्ण संरचना छन् । हावाहुरी चल्यो कि रुख ढलिहाल्छ । पोलमै रुख ढलेपछि विद्युत आपूर्ति बन्द हुन्छ । कहिलेकाँही लाइन कहाँ बिग्रियो भनेर पत्ता लगाउनै दिन बित्ने गरेको कर्मचारीको गुनासो छ ।
जनपत्रबाट
























