मनहरीको नीति तथा कार्यक्रममा कृषि र शिक्षालाई प्राथमिकता
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
शुक्रबार गाउँसभाको ११ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कृषि र शिक्षा क्षेत्रलाई प्राथमिकता दिईएको छ ।
नीति तथा कार्यक्रममा गाउँपालिकामा कृषि उत्पादनमा वृद्धि गर्न खेती योग्य जग्गा बाँझो राख्न नपाउनेगरी खाली खाली जग्गाहरुमा सामूहिक कृषिको वा उपयुक्त नीति अवलम्बन गरी व्यक्तिगत र सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिएको छ ।
त्यस्तै कृषकले आफ्नो उत्पादनको सही मूल्य प्राप्त गर्न नसक्दा बढ्दो निराशा अन्त्य गर्न मूल्य पाएको बखत मात्र आफ्नो उत्पादन बिक्री गर्न सक्षम बनाउन र बीउ बिजन भण्डारणको लागि यसै वर्ष गाउँपालिकाको लगानीमा गाउँपालिकाको वडा नम्बर ३ मा कोल्ड स्टोर निर्माण कार्य शुरुवात गरिने उल्लेख गरिएको छ ।
त्यस्तै वेरोजगार समस्यालाई न्यूनीकरण तथा आयआर्जनमा सुधारका लागि स्थानीय सीपलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न स्थानीय सीपमा आधारित र श्रम मुलक घरेलु तथा साना उद्योगहरुको व्यवस्थापन, क्षमता विकास, र प्रवद्र्धन गर्ने कार्यहरुलाई अघि बढाइने जनाएको छ ।
त्यस्तै सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीहरुलाई शिःशुल्क शिक्षा प्रदान गरिने उल्लेख गरिएको छ । गाउँपालिकाले यहि असार २३ गते बार्षिक बजेट गाउँसभाको दोस्रो बैठकमा पेश गरि पास गर्ने बताईएको छ ।
























