विपक्षीलाई अनैतिक लाग्दैमा म राजीनामा दिन्नः अर्थमन्त्री शर्मा

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले देश र जनताको पक्षमा आगामी आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षीलाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने स्पष्ट पारेका छन्।

सोमबार राष्ट्रिय सभामा विनियोजित बजेटका विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट देश र जनताको पक्षमा ल्याएको कारण विपक्षी दललाई अनैतिक लाग्दैमा आफूले राजीनामा नदिने बताएका हुन्।

उनले करका दर परिर्वतन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवारसमेत रहेको बताए। मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्रीको व्यक्तिगत नभएर प्रतिष्ठित व्यवसायी, अर्थविद्, नागरिक र सबै सांसदहरुको सुझावको आधारमा ल्याएको दाबी गरे।

उनले भने, ‘यो बजेट देश र जनताको पक्षमा ल्याएको कारणले कसैलाई अनैतिक लागेर राजीनामा दिनुपर्ने माग उठ्दैमा त्यही गर्नुपर्छ भन्ने होइन। यो इतिहासले पुष्टि गर्नेछ। त्यसप्रति म जवाफदेही छु। मैले गरेका निर्णयहरुमा पूर्वरुपमा जवाफदेही छु। मैले त्यो जिम्मा लिएको छु। लिन तयार पनि छु। अहिलेको सरकार तयार छ।’

उनले बजेट कार्यान्वयन गर्दा आयात प्रतिस्थापन, गरिबी हटाउने र मानव विकास सूचाङ्क वृद्धि गर्ने अंक नै बजेटमा समावेश गरिएको बताए। मन्त्री शर्माले बजेट कार्यान्वयन हुँदा औद्योगीकरण, उत्पादन र आयात प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्ने दाबी गरे।

अर्थमन्त्री शर्माले करका दर रेट घटाउने र बढाउने विषय अर्थमन्त्रीको क्षेत्र अधिकारको भएको बताए। उनले अर्थमन्त्रीले बजेट नल्याएर,करका दर रेटलाई घटबढ नगरेर अरु के गर्नु पर्ने थियोरु भन्दै प्रश्न गरे।

मन्त्री शर्माले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा आर्थिक समृद्धि, आत्मनिर्भता,गरिब कम गर्ने र व्यवसायिक क्षेत्रलाई प्रोत्साहन गर्ने गरी ल्याउने अर्थमन्त्री अनैतिक नहुने बताए।

उनले करका दर रेट घटाउनु र बढाउनु अर्थ मन्त्रालयको मुख्य काम भएको बताए। मन्त्री शर्माले मुलुकको वर्तमान आर्थिक अवस्थालाई हेरेर करका दर घटाउन बढाउन आवश्यक रहेको दाबी गरे।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*