हुप्रचौरमा व्यावसायिक भवन निर्माण नगर्न राप्रपाको आग्रह

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीले राप्रपाले हुप्रचौरमा निर्माण हुन लागेको बहुउद्देश्यीय भवन नबनाउन हेटौंडा उपमहानगरपालिकालाई आग्रह गरेको छ । ४७ करोड रुपियाँको लागतमा निर्माण हुन लागेको १३ तले भवनले हेटौंडालाई थप कुरुप बनाउने भन्दै भवनलाई स्थान्तरण गर्न राप्रपाले माग गरेको हो ।

आज राप्रपाले हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टी मकवानपुरका कार्यवाहक अध्यक्ष सागर थापासहितको टोलीले विभिन्न ६ वटा मागसहित उपप्रमुख बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।

हुप्रचौरभित्र रहेको तत्कालिन राजा विरेन्द्र शाहको शालीकको मर्मत सम्भार गरी बाटिका व्यवस्थापन गरी सर्वसाधरणका लागि सहज हुने गरी खुला गर्नुपर्ने, हुप्रचौरमा निर्माण हुन लागेको भवन हेटौंडा अस्पतालको परिसरमा स्थान्तरण गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने, भत्काइएको सभागृहको भग्नावशेष हटाई विपदको बेला खुला आश्रयस्थल बनाउनुपर्ने लगायतको मागसहित ज्ञापनपत्र बुझाइएको हो ।

राप्रपाले सो विषयमा जानकारी दिने उद्देश्यले हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा बोल्दै राप्रपा बागमती प्रदेश समितिका सचिव गुञ्जन बहादुर न्यौपानेले हुप्रचौरलाई खुला चौरको रुपमा संरक्षण गर्नुपर्ने धारणा व्यक्त गरे । उपमहानगरपालिकाले माग सम्बोधन नगरे राप्रपा सशक्त आन्दोलनसहित संघर्षमा उत्रन बाध्य हुने उनको भनाई थियो ।

पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सह–कोषाध्यक्ष सन्दीपकुमार सापकोटाले हेटौंडालाई थप कुरुप बनाउन हुप्रचौरमा भवन निर्माण गर्न लागिएको बताए । उनले ४७ करोडको लागतमा बन्ने भवनले उचित प्रतिफल दिन नसक्ने दाबी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*