हावाहुरीले मकै वाली नष्ट

खोटाङ । वर्षासँगै चलेको हावाहुरीले खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घोगा लाग्दै गरेको मकैबालीमा क्षति पुर्‍याएको छ । शुक्रबार राती वर्षासँगै चलेको हावाहुरीले धानचमर लागेर घोगा बढ्दैगरेको अवस्थाको मकै वाली सोतर पारेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान, हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले लगायतका वडामा हावाहुरीले मकैको बोट ढालेर सखाप बनाएको छ । हावाहुरीले ११ वडा रहेको नगरपालिकाको अधिकांश ठाउँमा क्षति पुर्‍याएको नगरका प्रवक्ता कमल गिरीले बताए ।

जिल्लाभर मुख्य बालिका रूपमा मकै खेती लगाउने गरिएको छ । तर हावाहुरीले उत्पादन दिनै नसक्नेगरी मकैको बोट ढलेको छ । घोगा लाग्दै गरेको अवस्थामा भाँचिएर ढलेको मकै उठाउन नमिल्ने, उठाए पनि दाना नलाग्ने किसान बताउँछन् ।

मकैमा क्षति पुग्दा किसान निराश बनेको दुर्छिमका स्थानीय तामन राई बताउँछन् । हावाहुरीले फलफूल, रुख तथा बाँसका झाङ समेत लडाएको छ । नगर कृषि शाखाका संयोजक सुरज पाण्डेले भने हावाहुरीले मकैमा पुगेको क्षतिको औपचारिक जानकारी नआएको बताए । सामाजिक सञ्जालमार्फत मात्र मकैमा क्षति भएको जानकारी भएको पाण्डेले जनाए ।

दुर्छिमको चुमाखु, रातमाटे लगायतका ठाउँमा लगाइएको मकै वाली हावाहुरीले ढालेर जमिनमा मिलाएको छ । हावाहुरीले अर्खौलेको नवलपुर, पारीगाउँ, फेदीलुबु लगायत अधिकांश वडामा मकै ढालेको वडाध्यक्ष अर्जुन पुरीले बताए । ‘घोगा लागिसकेको मकैको बोट भाँचिएर हेर्नै नसकिने अवस्था भएको छ । घोगा लागिसकेको मकै न उठाउन मिल्छ, न उठाउँदा दाना लाग्छ,’ पुरीले भने, ‘सबैतिरबाट क्षतिको जानकारी आइरहेको छ । विवरण संकलन भइरहेको छ ।’हावाहुरीले मकैमा पुर्‍याएको क्षतिको विषयमा जताततैबाट गुनासो आइरहेको धितुङका वडाध्यक्ष टेकराज राईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*