मकवानपुरमै पहिलो पटक तासिर स्कुलले गर्यो निर्वाचनमा विद्युतिय माध्यमको प्रयोग
मकवानपुर, २१ असार । मकवानपुर जिल्लामा पहिलो पटक विद्युतिय माध्यमबाट निर्वाचन भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वतीमा अवस्थित तासिर इङ्लिस सेकेण्डरी स्कुलले कागजी मतपत्रलाइ पूर्णरुपमा विस्थापित गरी विद्युतिय माध्यमको प्रयोगद्वारा हेडबोय, हेडगर्ल र हाउस क्याप्टेनको चुनाव सम्पन्न गरेको हो । मतदान सम्पन्न भएको ५ मिनेटमै नतिजा समेत प्रकाशित गरिएको थियो ।


विद्यालयका प्रिन्सिपल बिनोद थपलियाले विद्यार्थीहरुलाई अत्याधुनिक प्रविधिको प्रयोगद्वारा पनि विश्वसनिय, सरल र मितव्ययी निर्वाचन गर्न सम्भव छ भनी जानकारी र अभ्यास गराउन यसपटक विद्यालयले निर्वाचनमा कागजी मतपत्रमा रहेको चुनाव चिन्हमा छाप लगाइ गरिने मतदान प्रणालीलाई पूर्णरुपमा विस्थापन गरिएको बताए । ‘विद्युतिय उपकरणको प्रयोगद्वारा पूर्ण सुरक्षाका मापदण्ड अपनाइ निर्वाचन सम्पन्न गराईएको छ’ उनले भने । यसरी निर्वाचन गराउँदा समयको बचत , मत बदर हुने सम्भावना शून्य हुने , कम जनशक्तिको परिचालनबाट निर्वाचन हुन सक्ने , मतदान पश्चात मत गणना गर्दा लामो समय कुर्नु नपर्ने, मत परिणामको तथ्यांक सरल , सुरक्षित हुने जस्ता थुप्रै फाइदाहरु भएको प्रिन्सिपल थपलियाले बताए ।

निकट भविष्यमा नेपालले प्रयोगमा ल्याउने यस विधिका बारेमा विद्यालयका स–साना नानीबाबुहरुलाई पहिले नै अभ्यस्त गराइएको उनले बताए । नेपालमा उपलब्ध हुने साधन स्रोतले सम्भव भएसम्म तासिर स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरु हरेक प्रविधिलाइ अभ्यास गर्ने वातावरण उपलब्ध गराउने आफ्नो उदेश्य रहेको उनले बताए ।
निर्वाचनमा निर्वाचन आयुक्ताका रुपमा विद्यालयका सामाजिक विषयका मावि शिक्षक रविन्द्र कार्कीले जिम्मेवारी सम्हालेका थिए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिठ्ठेबहादुर कार्कीको अध्यक्षता रहेको थियो । विद्यालय संचालक राजन थापा, विद्यालय व्यवस्थापन समिति सदस्य प्रेम चौलागाई, राजन भन्डारी र वरिष्ठ सल्लाहकार दिलबहादुर श्रेष्ठको उपस्तिथिले निर्वाचन कार्यक्रममा थप उत्साह बढाएको थियो ।


निर्वाचनमा कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत ४११ जनाले मतदान गरेका थिए । निर्वाचनमा हेड बोय कक्षा ९ का छात्र प्रतीक गौतम निर्विरोध विजय भएका थिए । हेड गर्लका लागि कक्षा ८ का छात्रहरु स्प्रीया अर्याल , स्मृति पाठक र सिमोन भट्टराइले उम्मेदवारी दिएका थिए । जसमध्ये २३७ मत ल्याई सिमोन भट्टराई बिजयी भएकी छिन् । त्यस्तै रातो सदनको क्याप्टेनका लागि कक्षा ९ की सृष्टि राना मगर, कक्षा ९ कै प्रबेश बास्तोला र कक्षा ८ की पुष्पा काफ्लेले उम्मेदवारी दिएका थिए । यस पदका लागि खसेको जम्मा १०१ मतमध्ये ६७ मत प्राप्त गर्दै प्रवेश वास्तोला विजयी भएका छन् ।

हरियो सदनको क्याप्टेनका लागि कक्षा ८ का स्वर्णिम महत, अनुश्का अर्याल र निदृता सिलवालले उम्मेदवारी दर्ता गराएकोमा जम्मा खसेको ११० मतमध्ये ७१ मत प्राप्त गरी निदृता सिलवाल बिजयी भएकी थिईन् । निर्वाचनमा निलो सदनको क्याप्टेनका लागि कक्षा ८ का समृद्ध जङ्ग थापा, सृष्टि दवाडी, प्रविण नेपाल र विश्वास मैनालीले उम्मेदवारी दिएका थिए । उक्त पदका लागि खसेको १०३ मतमध्ये ६३ मत प्राप्त गरी समृद्द जङ्ग थापा बिजयी भएका छन् । साथै पहेँलो सदनको क्याप्टेनका लागि कक्षा ९ का रिजन चौलागाईं र कक्षा ८ को करुण गौतम मध्ये ६४ मत ल्याई करुण गौतम विजयी भएका छन् । उक्त पदका लागि जम्मा ९७ मत खसेको थियो ।

निर्वाचनमा सहभागी सम्पूर्ण उम्मेदवारहरु र बिजेताहरुलाइ विद्यालय व्यवस्थापन समितिद्वारा बधाई दिँदै खादा र टिकाले सम्मान गरिएको थियो । निर्वाचन कार्यक्रमलाई व्यवस्थित गर्नका निमित्त विद्यालयका अतिरिक्त क्रियाकलाप समिति प्रमुख सरल गौतम लगाएत सम्पुर्ण शिक्षक शिक्षिकाहरुको महत्वपूर्ण भूमिका रहेको थियो । कार्यक्रमको संचालन शिक्षक कृष्ण काफ्लेले गरेका थिए ।



























