संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने कांग्रेस महामन्त्री थापाको भनाई
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको उनले जानकारी दिए ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताए । प्रधानमन्त्री शेरबहादुर देउवाले यस कुरालाई गम्भिर तरिकाले लिएको बताउँदै उनले भने, ‘आज–भोलिमा त्यो विधेयक फिर्ता हुन्छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य। अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।
‘पूर्ववर्ति सरकारले यस्तै विधेयक ल्याउँदै गर्दा कांग्रेसले गलत भन्यो, संविधान विपरीत भएकाले मान्दैनौं भनेर कांग्रेसले भन्यो, सभापति त्यो बैठकमा भाग लिन नै जानुभएन,’ थापाले भने, ‘हिजो गलत भनेको कुरालाई आज हामीले सही भन्न पाउँछौं ? पाउँदैनौं । हिजो गलत थियो भने आज पनि गलत छ ।’
हामीलाई गल्ती गर्ने छुट छैन भनेर देउवासँग हिजो भएको भेटमा भनिसकेको उनले जानकारी दिए । प्रचलित कानुनभन्दा फरक तरिकाले राष्ट्रिय सभामा संवैधानिक परिषद सम्बन्धी विधेयक दर्ता भएको उनले बताए ।
























