नागरिक विधेयकमाथि तीन घण्टामा २७ संशोधनकर्ता सांसदले बोले

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीन घण्टादेखि नागरिकता विधेयकमाथिको दफाबार छलफल चलिरहेको छ। दिउँसो १ बजे सुरु भएको बैठकमा अरू कार्यसूची हटाएर सभामुख अग्नीप्रसाद सापकोटाले गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल नागरिकता पहिलो संसोधन विधेयक २०७९ माथि दफाबार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्न रुलिङ गरेका थिए।

सो प्रस्ताव सर्वसम्मतिले पारित भएपछि सुरु भएको छलफलमा अपराहन्न ४ बजेसम्म २६ सांसदले आफ्नो धारणा राखिसकेका छन्। जसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले साढे तीन वर्ष संसदमा छलफल गरेर सहमति नजिक पुगेको विधेयक फिर्ता लिएर नयाँ विधेयक ल्याइएको भन्दै आपत्ति जनाएका छन्।

संयुक्त संशोधनका मुल संशोधनकर्ता एमालेका सांसद खगराज अधिकारी, लालबाबु पण्डित, विद्या भट्टराई, गंगा चौधरी सत्गौवा, बिमला बिक र देवप्रसाद गुरुङले विधेयकमाथिको छलफलमा भाग लिए।

त्यसैगरी सांसदहरु घनश्याम खतिवडा, नरबहादुर धामी, गोकुलप्रसाद बास्कोटा, बिन्दा पाण्डे, शान्तिमाया तामाङ, शेरबहादुर तामाङ, यज्ञराज सुनुवार, यज्ञबहादुर बोगटी, गणेश कुमार पहाडी, कृष्णबहादुर राइ, सुजिता शाक्य, बिग्रसकुमार गुप्ता, अन्जना बिसुन्खे, बिनाकुमारी श्रेष्ठ, झपडबहादुर रावल, लक्ष्मिकुमारी चौधरी, सरिता न्यौपाने र रामकुमारी झाँक्रीले बोलिसकेका छन्।

संशोधनकर्ता सांसद खेमप्रसाद लोहनीको तर्फबाट भने सांसद विमला विश्वकर्माले बोलिदिएकी थिइन्। यस्तै जनमोर्चाकी सांसद दुर्गा पौडेल र नेमकिपाका सांसद प्रेम सुवालले पनि आफ्नो धारणा राखेका छन्।

नागरिकता विधेयकमा ४५ सांसदले एकल र समूहगत गरी ३१ वटा संशोधन दर्ता गराएका छन्।

विधेयकमाथि सत्तारुढ गठबन्धनकै केही सांसदहरुलेसमेत संशोधन हालेका छन्। छलफलमा भाग लिँदै सांसदहरुले विधेयकमाथिका केही दफामा विरोध जनाएका छन्।

उनीहरुले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई भोलिपल्टै नागरिकता दिन सकिने दफामाथि आपत्ति जनाएका छन्। आफ्नो संशोधन प्रस्ताव प्रस्तुत गर्दै छलफलमा भाग लिएका सांसद डा सुरेश प्रसाद पाठकले सिमा जोडिएको भारत लगायतका देशसँग छलफल गरेर कि एकरुपमा ल्याउनुपर्ने कि त्यहाँको जस्तै व्यवस्था हामीले गर्नुपने तर्क गर्नुभयो। भारतमा अहिले विदेशी चेली बिहे गरेर जाँदा ७ वर्षपछि मात्र त्यहाँको नागरिकता पाउने गरेको उल्लेख गर्दै हामीले भोलिपल्टै किन दिने भनेर प्रश्न गरे।

नेकपा एमालेका सांसद शेरबहादुर तामाङले जन्मसिद्ध नागरिकता पाउने र गैरआवासीय नेपालीलाई नागरिकता दिनेमा समर्थन रहेको बताए। तर ब्रिटिस गोर्खालाई दिइने नागरिकतालाई वंशजकै नागरिकता दिनुपर्ने धारणा राखे।

एमालेकै अर्का सांसद भीम रावलले भने नागरिकता विधेयकमाथिको छलफलमा कविता सुनाए। बैठकको सुरुमा कांग्रेस सांसद मीनेन्द्र रिजालले आज विपि कोइरालाको स्मृति दिवशमा संसदले उहाँले सम्झने पर्ने भन्दै उनको विचारको प्रशंसा गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*