एसईई नतिजा आज प्रकाशित हुँदै , ‘नन ग्रेडेड’ लागू नहुने
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा बुधबार प्रकाशन गर्ने भएको छ। मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुहरुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए
कोरोना महामारीका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार ५३ छात्र गरी पाँच लाख १४ हजार ९७७ परीक्षार्थी सहभागी भएका दिए ।
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।
नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ । गत वैशाख ८ गतेदेखि संचालन गरिएको थियो ।
यस्तै बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो ।
विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा गरिएको थियो । तर, कोभिड-१९ को दोस्रो लहरका कारण पठनपाठन नियमित नभएको र वैकल्पिक सिकाइ प्रणाली पनि प्रभावकारी नभएकाले निर्देशिका लागू गर्दा धेरै जना विद्यार्थी फेल हुने अवस्था देखिएपछि मंगलबार बसेको बोर्ड बैठकले ‘नन ग्रेडेड’ लागू नगर्ने निर्णय गरेको हो ।
























