हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार छ – उद्योगमन्त्री बडू
हेटौंडा । सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि निजी क्षेत्रलाई दिन सरकार तयार रहेको बताएका छन्।
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको उद्योग संघ मकवानपुरले राखेको एक कार्यक्रममा संघीय सहभागी हुन बिहीबार बिहान हेटौंडा आइपुगेका मन्त्री बडुले हेटौंडा कपडा उद्योग संचालनका लागि बजेट नै छुट्टाइसकेकाले निजी क्षेत्रलाई दिन सरकार तयार रहेको र त्यसका लागि आवश्यक योजना अघि बढिसकेको जानकारी दिए ।
‘कपडा उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेटमै उल्लेख गरिसकेको छ। सरकारीस्तरबाट भन्दा पनि निजी क्षेत्रबाट उद्योग सञ्चालनमा तीव्रता देखिने भएपछि आवश्यक योजना अघि बढाइएको छ,’ मन्त्री बडूले भने, ‘निजी क्षेत्रलाई प्रोत्साहित गर्दै सरकारी सम्पत्तिको सही सदुपयोग र मुलुकमा बन्द रहेका ठूला उद्योग पुनः सञ्चालनमा टेवा पुग्ने देखिएपछि सरकार कपडा उद्योग निजी क्षेत्रलाई दिन तयार भएको हो।’
उद्योग संघ मकवानपुरले बडुलाई विहीबार ज्ञापनपत्र समेत बुझाएको छ । पत्रमा उद्योगीहरुको असहमति अनुरुप २०७५ मंसिर ५ गते जग्गा भाडा वृद्धि गरिएको, मन्त्रालयबाट तत्काल कार्यान्वयन नगर्नु नगराउनु भनी निर्देशन दिई रोक्का गरिएको निर्णयलाई हाल आएर सोही मितिदेखी लागुहुने गरी कार्यान्वयनमा आउन लागेको प्रति आपत्ति जनाएको विषय उल्लेख रहेको छ । २०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड–१९ को मार, रसिया–युक्रेन युद्धलगायतका कारणले उत्पन्न विषम् परिस्थितिमा उद्योगीले कुनै पनि हालतमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा भुक्तानी गर्न नसक्ने उल्लेख गर्दै उद्योग संघ मकवानपुरले जमिन बहालसम्बन्धी समस्याको दीर्घकालिन समाधानको उपाय अबलम्बन गर्न पनि मन्त्रीको ध्यानाकर्षण गराएको छ ।
सरकारले यसअघि पनि पटकपटक कपडा उद्योग सञ्चालन गर्ने बताउँदै आए पनि पुनः सञ्चालनका हुन् सकेको छैन ।
२०५७ साल माघ १८ गतेदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग अहिले जीर्ण अवस्थामा पुगिसकेको छ। उद्योग सञ्चालनका लागि आवश्यक मेसिनहरू जीर्ण भइसकेका छन्।
























