एमालेबाट मकवानपुर क्षेत्र नम्बर–२ मा तीन जनाले उम्मेदवारी दिने चर्चा
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा तीन जनाले उम्मेदवारी दिने चर्चा चलेको छ । एमालेबाट पाका नेता र युवा नेताहरुले उम्मेदवारी दिने चर्चा चलेको हो । मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेशसभाको चुनाबमा एमालेका नेताहरु टिकट लिनका लागि दौडधुप पनि गर्न थालेका छन् ।
क्षेत्र नम्बर–२ बाट बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा एमालेका नेता डोरमडि पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर राना र नेकपा एमालेका बागमती प्रदेशका उपसचिब तथा प्रचार विभागका प्रमुख महेश कुमार बर्तौलाले उम्मेदवारी दिने चर्चा चलेको हो ।
चुनाब लड्नका लागि प्रतिनिधिसभामा अरुले पनि आकांक्षा देखाएका छन् । तर, तीन जनाको नाम धेरै चर्चामा रहेको हो । क्षेत्र नम्बर–२ मा प्रथम मुख्यमन्त्री डोरमडि पौडेलको चर्चा चलेपनि मंसिरमा हुने चुनाबमा उम्मेदवारी नदिने मनसाय पनि व्यक्त गर्नु भएको छ । तर, एमालेको केन्द्रीय पार्टीले दवाव दिएमा पौडेलले उठ्नैपर्ने संभावना पनि छ । हेटौंडालाई प्रदेशको स्थायी राजधानी कायम गरेर चर्चित बन्नु भएका पौडेलको जनमत पनि राम्रो छ । त्यसैले पनि पौडेलले चुनाब नलड्ने भनेपनि पार्टी केन्द्रको दवावका कारण लड्नुपर्ने संभावना पनि बढेको छ ।
यसैगरी एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका रामेश्वर राना एमालेभित्र स्वस्च छवि बनाउनु भएका पाका नेताका रुपमा चिनिनुहुन्छ । उहाँ यसपालीको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा प्रतक्ष चुनाब लड्ने मनसाय बनाउनु भएको छ । शालिन, पुराना र पाका नेता रानाले चुनाब लड्नका लागि तयारी पनि थाल्नु भएको छ । तर, उहाँ प्रतक्ष चुनाब लड्नेकी समानुपातिकमा आफ्नो सिट सुरक्षित गर्ने भन्ने दुइवटा कुरा पनि चर्चा चलिरहेको छ । दुवै तर्फ उहाँको त्यतीकै संभावना रहेको छ ।
यसैगरी मकवानपुर क्षेत्रनम्बर–२ मा एमालेका तर्फबाट युवा नेता महेश कुमार वर्तौलाको पनि निकै चर्चा चल्न थालेको छ ।
यो पटकको चुनाबमा युवालाई पनि समेट्नुपर्छ भन्ने दवाव पार्टी भित्र चल्न थालेपछी बर्तौलाको पनि संभावना बलियो बन्दै गएको हो । बिद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा लाग्नु भएका बर्तौला केन्द्रीय स्तरमा सजिलोसंग पहुँच राख्न सक्ने नेताको रुपमा गनिनुहुन्छ । प्रतिनिधीसभामा पाका नेताहरुले पार्टीबाट टिकट पाएमा क्षेत्र नम्बर–२ को प्रदेशसभा क बाट उहाँले उम्मेदवारी दिने संभावना पनि उत्तिकै बलियो छ । पार्टीले युवाहरुलाई समेट्नै पर्ने दवाब र गठवन्धनका उम्मेदवारलाई हराउनका लागि नयाँ र जोसिला अनुहार लिएर जनतामाझ जानुपर्ने एमालेका नेता कार्यकर्ताहरु बताउँछन् ।
























